काठमाडौं, फागुन १७ । आगामी फागुन २१ गते हुने संसदीय निर्वाचनलाई सुरक्षित बनाउन नेपाली सेनाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएको छ।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले आइतबार जारी गरेको विज्ञप्ति अनुसार, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको प्रयासलाई साथ दिँदै सेनाले ‘तेस्रो घेरा’मा रहेर सुरक्षा प्रदान गर्नेछ। ‘संसदीय निर्वाचन एकीकृत सुरक्षा योजना २०८२’ र ‘संसदीय निर्वाचन ऐन २०७४’ अन्तर्गत रहेर सेनाले मतपत्र छपाइ केन्द्रको सुरक्षा, काठमाडौँबाट जिल्ला निर्वाचन कार्यालयहरू सम्म मतपत्र ढुवानी र तोकिएका स्थानहरूमा निर्वाचन प्रक्रियाको सुरक्षा गर्नेछ।
मतदान सकिएपछि निर्वाचन अधिकृत र दलका प्रतिनिधिहरूको रोहबरमा मतपेटिकालाई मतगणना केन्द्रसम्म पुर्याउने जिम्मेवारी पनि सेनाले सम्हाल्नेछ। वि.सं. २०४८ सालदेखि नै निर्वाचन सुरक्षामा सहयोग गर्दै आएको लामो इतिहास बोकेको नेपाली सेनाले देशभर स्वच्छ, निष्पक्ष र पारदर्शी निर्वाचन सुनिश्चित गर्न आफू प्रतिबद्ध रहेको जनाएको छ।





