साउदी अरेबिया, फागुन १९ । मध्यपूर्वमा चर्किएको सैन्य तनावका बीच इरानले साउदी अरेबियाको सरकारी तेल कम्पनी ‘साउदी अरामको’ को प्रमुख रास तनुरा रिफाइनरीमा ड्रोन आक्रमण गरेपछि उक्त प्लान्ट अस्थायी रूपमा बन्द गरिएको छ।
दैनिक करिब ५ लाख ५० हजार ब्यारेल तेल प्रशोधन क्षमता भएको यो रिफाइनरी मध्यपूर्वकै ठूलो मध्येको एक हो, जसको सञ्चालन सुरक्षा सावधानीका लागि रोकिएको हो। यो आक्रमण खाडी क्षेत्रका प्रमुख सहरहरू अबुधाबी, दुबई र दोहामा भएका आक्रमणहरूकै शृङ्खलाको रूपमा लिइएको छ, जसका कारण अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट क्रूडको मूल्य १० प्रतिशतसम्मले वृद्धि भएको छ।
सन् २०१९ मा पनि साउदीका तेल पूर्वाधारमा यस्तै आक्रमण हुँदा विश्वको ऊर्जा आपूर्तिमा ठूलो धक्का पुगेको थियो। पछिल्लो घटनाले विश्व ऊर्जा आपूर्तिको स्थायित्व र खाडी क्षेत्रको सुरक्षामाथि पुनः गम्भीर प्रश्न खडा गर्दै विश्व अर्थतन्त्रमा थप दबाब पुर्याउने संकेत देखिएको छ।
साउदी सैन्य प्रवक्ताका अनुसार रिफाइनरी लक्षित ड्रोनहरू बीचमै खसालिए पनि सुरक्षा सावधानीका लागि ‘साउदी अरामको’ को रास तनुरा रिफाइनरीको सञ्चालन अस्थायी रूपमा रोकिएको छ। यद्यपि, स्थानीय बजारमा इन्धन आपूर्तिमा कुनै असर नपर्ने साउदी प्रेस एजेन्सीले जनाएको छ। यता कुवेतमा पनि इरानी आक्रमणपछि अमेरिकी दूतावासभित्र धुवाँको मुस्लो देखिएको छ भने त्यहाँस्थित कर्मचारीहरूलाई सुरक्षित स्थानमा आश्रय लिन निर्देशन दिइएको छ। कुवेतको गृह मन्त्रालयले पनि आफ्नो भूमिमा लक्षित कैयौँ ड्रोनहरूलाई बीचैमा नष्ट गरेको दाबी गरेको छ।
यसैबीच, उत्तर-पश्चिमी कुवेतमा सोमबार बिहान अमेरिकी वायुसेनाको एफ-१५ई फाइटर जेट दुर्घटनाग्रस्त भएको छ। जेट दुर्घटना हुनुअघि नै चालक दलका सदस्यहरू सुरक्षित रूपमा निस्कन सफल भएका छन्। कुवेतको रक्षा मन्त्रालयले केही अमेरिकी युद्धविमानहरू दुर्घटनामा परेको पुष्टि गर्दै अनुसन्धान सुरु गरिएको जनाएको छ भने अपुष्ट रिपोर्टहरूले ती विमानहरू ‘फ्रेन्डली फायर’ का कारण खसेको हुनसक्ने संकेत गरेका छन्।
इरानले शनिबार इजरायल र अमेरिकाको संयुक्त हवाई आक्रमणमा परी आफ्ना सर्वोच्च नेता आयतोल्लाह अली खामेनीसहित शीर्ष अधिकारीहरूको मृत्यु भएपछि त्यसको प्रतिशोधस्वरूप यो क्षेत्रीय आक्रमण सुरु गरेको हो। सन् २००९ देखि यूएईमा सैन्य उपस्थिति जनाएको फ्रान्ससहितका अन्य देशहरू अहिले इरानी प्रहारको निशानामा परेका छन्, जसले गर्दा पूरै क्षेत्र युद्धको चपेटामा परेको छ।




