चितवन, फागुन २३ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सभापति रवि लामिछाने चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा पुनः निर्वाचित भएका छन्।
मतगणनाको अन्तिम चरणमा आइपुग्दा लामिछानेले आफ्ना निकटतम प्रतिस्पर्धीहरूलाई निकै पछि पार्दै शानदार जित हासिल गरेका हुन्। यद्यपि, निर्वाचन आयोगले यसको औपचारिक घोषणा गर्न भने बाँकी छ।
लामिछानेले ५४ हजार ४०२ मत प्राप्त गरेका छन्। यो मत संख्या यस क्षेत्रमा खसेको कुल सदर मतको ठूलो हिस्सा हो। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी मिनकुमारी खरेलले १४ हजार ५६४ मत मात्र प्राप्त गरिन्। लामिछाने र खरेलबीचको मतान्तर झण्डै ३९ हजार ८३८ रहेको छ।
यस्तै, नेकपा एमालेका उम्मेदवार अस्मिन घिमिरेले ६ हजार ९४२ मत ल्याउँदा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का प्रताप गुरूङले ४ हजार ९६९ मत प्राप्त गरेका छन्।
रवि लामिछानेका लागि चितवन–२ को यो जित ‘ह्याट्रिक’ सरह हो। यसअघि २०७९ को आम निर्वाचन र त्यसपछि भएको उपनिर्वाचनमा पनि उनले यसै क्षेत्रबाट अत्यधिक मतका साथ विजय हासिल गरेका थिए। उपनिर्वाचनमा उनले ५४ हजार १७६ मत ल्याएका थिए भने यसपटक सो संख्यालाई समेत उछिनेर नयाँ उचाई कायम गरेका छन्।
चितवनका मतदाताले पुनः एकपटक लामिछानेमाथि नै भरोसा देखाएको यस नतिजाले पुष्टि गरेको छ। मतगणनाको सुरुवातदेखि नै फराकिलो अग्रता बनाएका लामिछानेको पक्षमा अन्तिमसम्म पनि त्यही लहर कायम रह्यो। औपचारिक घोषणासँगै लामिछानेले तेस्रो पटक संसदको यात्रा तय गर्नेछन्।




