चितवन, चैत्र ५ । चितवनका अस्पतालहरूमा रगतको चरम अभाव भएपछि नेपाल रेडक्रस सोसाइटी चितवन शाखाले रक्तदानका लागि विशेष अपिल जारी गरेको छ।
निर्वाचनपछि रक्तदानका कार्यक्रमहरू नहुँदा जिल्लामा दैनिक करिब १५० युनिट रगतको माग भए पनि आपूर्ति ठप्प प्रायः छ, जसका कारण क्यान्सरका बिरामी, सुत्केरी र आकस्मिक शल्यक्रिया गर्नुपर्ने घाइतेहरूको उपचार प्रभावित भएको छ।
प्रादेशिक रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलका अनुसार केन्द्रमा मौज्दात सकिएपछि हाल बिरामीका आफन्त र स्वयंसेवी रक्तदाताको भरमा माग धान्ने प्रयास भइरहेको छ। रेडक्रस चितवनका सभापति हरिप्रसाद पौडेलले बिरामीको ज्यान जोगाउन विभिन्न संघ-संस्था र सर्वसाधारणलाई तत्काल रक्तदान कार्यक्रम आयोजना गरिदिन आग्रह गर्नुभएको छ।




