काठमाडौं, चैत ११ । चीनको जिलिन प्रान्तमा एउटा चलचित्रको कथालाई पनि माथ दिने गरी सातवटा कुकुरहरू मासु बजारको मुखबाट उम्किएर घर फर्कन सफल भएका छन्। छिमेकीका यी सात कुकुरहरूलाई मासुका लागि बेच्न ट्रकमा राखेर लैजाँदै गर्दा उनीहरू नाटकीय रूपमा भाग्न सफल भएका हुन्।
सामाजिक सञ्जालमा भाइरल भएको यो घटनामा कुकुरहरूको अद्भुत एकता देखिएको छ। ट्रकबाट उम्किएपछि ती सातै वटा कुकुरहरू एकअर्कालाई नछोडी समूहमा हिँडेका थिए। यात्राका क्रममा एउटा ‘जर्मन शेफर्ड’ जातको कुकुर घाइते भएपछि अन्य साथीहरूले उसलाई घेरा हालेर सुरक्षा दिएका थिए। अनौठो कुरा त के छ भने, सानो कदको ‘कोर्गी’ जातको कुकुरले उक्त समूहको नेतृत्व गर्दै बाटो देखाएको थियो।
आफ्नो ज्यान जोगाएर घर फर्कने क्रममा यी कुकुरहरूले दुई दिनसम्म निरन्तर यात्रा गरेका थिए। उनीहरूले सडक, गल्ली र खुल्ला मैदानहरू पार गर्दै करिब १७ किलोमिटर दूरी तय गरे। भोक, प्यास र थकानका बावजुद अन्ततः उनीहरू आफ्नै मालिकको घरसम्म पुग्न सफल भए।
कुकुरहरूको यो बहादुरी र वफादारीले अहिले विश्वभरका पशु प्रेमीहरूको ध्यान खिचेको छ। सामाजिक सञ्जालमा धेरैले यसलाई ‘मिराकल’ भन्दै कुकुरहरूलाई घर फिर्ता गराउन सफल भएकोमा खुसी व्यक्त गरेका छन्। (एजेन्सी)




