काठमाडौं, जेठ १४ । आर्थिक घोटालाको आशंकामा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले दुग्ध विकास संस्थान (डिडिसी) को लैनचौरस्थित केन्द्रीय कार्यालयमा बुधबार छापा मारेको छ। सीआईबीको टोलीले संस्थानबाट दूध खरिद-बिक्रीसम्बन्धी महत्त्वपूर्ण कागजातहरू नियन्त्रणमा लिनुका साथै अनुसन्धानका लागि पाँच जना कर्मचारीहरूको मोबाइलसमेत जफत गरेको छ।
छापा मार्ने क्रममा डिडिसीका महाप्रबन्धक डा. शरण कुमार पाण्डे मन्त्रालयमा हुनुहुन्थ्यो। केही समयअघि काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले डिडिसीको चिज खाएको तस्बिर सार्वजनिक गर्दै स्वदेशी उत्पादन प्रवर्द्धनको आग्रह गरेपछि यो संस्था थप चर्चामा आएको थियो। सोही चर्चाकै बीच संस्थाभित्र वित्तीय अनियमितताको आशंकामा सीआईबीले आकस्मिक छापा मारेर कागजात र प्रमाण संकलन गर्दै अनुसन्धान प्रक्रियालाई अगाडि बढाएको छ।




