खलंगा, जेठ २१ । सामाजिक सञ्जालमा भाइरल भएको भिडियोका आधारमा गोरुमाथि क्रूर तथा निर्दयी व्यवहार गरेको आरोपमा एक व्यक्तिलाई पक्राउ गरिएको छ।
जिल्ला प्रहरी कार्यालय जुम्ला ले जारी गरेको प्रेस विज्ञप्तिअनुसार जुम्लाको गुठीचौर गाउँपालिका–१ निवासी करिब ३६ वर्षीय जालिम थापा मगरले आफ्नै खेतबारीमा गोरुलाई लडिरहेको अवस्थामा कुटपिट तथा हिकाई गरेको भिडियो सामाजिक सञ्जाल फेसबुक र टिकटकमा सार्वजनिक भएको थियो।
भिडियो सार्वजनिक भएपछि प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाएको जनाएको छ। विज्ञप्तिअनुसार थापा मगरले गोरुमाथि कुटपिट र हिकाई गरी पशुपन्छीप्रति निर्दयी व्यवहार गरेको देखिएपछि नियन्त्रणमा लिइएको हो।
प्रहरीले मुलुकी अपराध संहिता, २०७४ को पशुपन्छीप्रति निर्दयी व्यवहार सम्बन्धी कानुनी व्यवस्थाअन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको जनाएको छ। यस सम्बन्धमा जिल्ला प्रशासन कार्यालय जुम्ला बाट पाँच दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जानकारी दिएको छ।
प्रहरीले सामाजिक सञ्जालमा सार्वजनिक हुने यस्ता घटनाबारे सूचना दिन तथा पशुपन्छीमाथि हुने हिंसा र क्रूर व्यवहार रोक्न सबैलाई सचेत रहन आग्रह गरेको छ।




