काठमाडौं, जेठ २२ । परराष्ट्रमन्त्री शिशिर खनाल औपचारिक भ्रमणका लागि भारतको नयाँ दिल्ली प्रस्थान गरेका छन्। भारतीय विदेशमन्त्री डा. एस. जयशङ्करको मैत्रीपूर्ण निमन्त्रणामा उनी आज त्यसतर्फ प्रस्थान गरेका हुन्।
नयाँ दिल्ली प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै परराष्ट्रमन्त्री खनालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको नयाँ सरकार गठन भएपछिको यो नै पहिलो उच्चस्तरीय वैदेशिक भ्रमण भएको उल्लेख गरे।
भ्रमणका क्रममा भारतीय समकक्षी डा. जयशङ्कर लगायतका उच्च अधिकारीहरूसँग भेटवार्ता हुने जानकारी दिँदै मन्त्री खनालले यस पटकको संवादमा नेपालका प्रमुख राष्ट्रिय प्राथमिकता, आपसी हित र द्विपक्षीय सम्बन्धका विविध आयामहरूमा केन्द्रित रहेर छलफल हुने बताए।




