डोल्पा, असार २१ । लगातारको अविरल वर्षापछि डोल्पाको जगदुल्ला गाउँपालिका–५ गैरीगाउँमा लेदोसहितको भीषण बाढी पस्दा एक महिलाको दुःखद मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।
आइतबार बिहान करिब ३ बजे धुलाखोला र आसपासका खोल्साहरूबाट अचानक हिलोमाटोसहितको बाढी बस्तीमा पसेको थियो। बाढीले घर पुरिँदा घरभित्रै सुतिरहेकी ५६ वर्षीया आनन्दी विकको ज्यान गएको छ। प्रहरी र स्थानीयले उनलाई उद्धार गरी स्वास्थ्य चौकी लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो।
बाढीमा परी घाइते भएका ६ जनाको स्थानीय झ्याकोट स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। उनीहरू मध्ये एककाे अवस्था गम्भीर रहेकाले थप उपचारका लागि जुम्ला रिफर गरिएको छ।
घाइतेमध्येका एक विष्णु विकका अनुसार बाढीको बहाव यति तीव्र थियो कि यसले उनीहरूलाई सुतिरहेकै ठाउँबाट करिब १५–१६ मिटर तलसम्म बगाएको थियो।




