काठमाडौं, असार २४ । देशको अर्थतन्त्रलाई चलायमान बनाउन र निजी क्षेत्रको आत्मविश्वास जगाउन प्रधानमन्त्री बालेन्द्र शाहले आज उद्योगी तथा व्यवसायीहरूसँग विशेष संवाद गर्दैछन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११:३० बजे बस्ने उक्त उच्चस्तरीय बैठकमा मुलुकको वर्तमान आर्थिक अवस्था, लगानीको वातावरण र सरकार–निजी क्षेत्रबीचको सहकार्यबारे सघन छलफल हुनेछ।
प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालका अनुसार, शाहले पदभार ग्रहण गरेपछि निजी क्षेत्रका प्रमुख छाता सङ्गठनका नेतृत्वसँग औपचारिक रूपमा गर्न लागेको यो पहिलो विशेष संवाद हो।
बैठकमा निजी क्षेत्रको प्रतिनिधित्व गर्दै नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अन्जन श्रेष्ठ र उद्योग समिति सभापति उज्ज्वलकुमार श्रेष्ठ, नेपाल उद्योग परिसङ्घका निवर्तमान अध्यक्ष राजेशकुमार अग्रवाल र महानिर्देशक डा. घनश्याम ओझा तथा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाल र वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्रा सहभागी हुने कार्यक्रम रहेको छ।




