काठमाडौं, असार २५ । हाल नेपालभर मनसुनी वायुको प्रभाव रहनुका साथै मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि रहेको छ, जुन आगामी दिनमा बिस्तारै नेपाल नजिकिँदै जाने सम्भावना छ।
यसै प्रभावका कारण आज देशभर साधारणतया बदली रही कोशी, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो पनि देशका अधिकांश स्थानमा मौसम बदली रहनेछ भने पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । साथै, कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानहरूका साथै मधेश, बागमती र गण्डकी प्रदेशका तराईका थोरै स्थानहरूमा समेत मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने भएकाले महाशाखाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।




