काठमाडौं, असार २५ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले संविधान संशोधनको मूल विषय सुशासन, प्रभावकारी सेवा प्रवाह र भ्रष्टाचार नियन्त्रण हुनुपर्नेमा जोड दिनुभएको छ।
ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित विचार गोष्ठीमा बोल्दै उहाँले शक्ति सन्तुलनका लागि बनाइएको संवैधानिक परिषद् राजनीतिक दलहरूको भागबन्डा र आग्रहको सिकार भएकोमा चिन्ता व्यक्त गर्नुभयो। प्रधानमन्त्री वा राजनीतिक नेतृत्वको प्रभाव र दबाबबाट मुक्त भई अख्तियार दुरुपयोग अनुसन्धान आयोग जस्ता संवैधानिक निकायले स्वतन्त्र रूपमा काम गर्न सक्ने वातावरण बनाउन कानुनी र संवैधानिक संरचनामै सुधार आवश्यक रहेको उहाँको तर्क छ।
अबका दिनमा काँग्रेसले कतै पनि भागबन्डा नगर्ने र नखोज्ने स्पष्ट पार्दै उहाँले न्यायाधीश तथा संवैधानिक निकायका पदाधिकारीहरूको नियुक्ति प्रक्रियामा राजनीतिक भागबन्डाको सट्टा पारदर्शिता, कार्यक्षमता र शुद्धता कायम गर्न संवैधानिक परिषद्को विद्यमान संरचनामाथि खुला छलफल र पुनर्विचार गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो।




