काठमाडौं, असार २८ । नेपाली चलचित्र क्षेत्रकी चर्चित हास्य कलाकार, अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया गरिएको छ। माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा वरिष्ठ न्यूरो सर्जन डा. बसन्त पन्तको नेतृत्वमा रहेको चिकित्सक टोलीले उनको शल्यक्रिया गरेको हो।
नयाँ चलचित्र ‘छ माया छपक्कै २’ को छायाङ्कनका क्रममा स्वास्थ्यमा समस्या देखिएपछि दीपाश्रीको स्वास्थ्य परीक्षण गराइएको थियो। सोही परीक्षणका क्रममा उनको मस्तिष्कमा ४ सेन्टिमिटरको ट्युमर भएको पत्ता लागेको हो। आकारका हिसाबले यो निकै गम्भीर मानिए पनि समयमै उपचार हुँदा शल्यक्रिया सफल भएको छ।
अभिनेता तथा निर्माता दीपकराज गिरीले सामाजिक सञ्जालमार्फत दिएको जानकारी अनुसार दीपाश्रीको स्वास्थ्य अवस्था अहिले क्रमिक रूपमा सुधार हुँदै गएको छ। मस्तिष्कको संवेदनशील भागमा दबाब दिइरहेको सो ट्युमरलाई सफल शल्यक्रियापश्चात् निकालिएको हो। हाल उनलाई आइसियूबाट जनरल वार्डमा सारिएको छ।
“४ सेन्टिमिटरको ट्युमरले मस्तिष्कका संवेदनशील भागहरूमा दबाब दिने भएकाले उनको तत्काल शल्यक्रिया गरिएको थियो। अहिले उहाँको स्वास्थ्य अवस्था सुधारोन्मुख छ।” कलाकार दीपकराज गिरीले सामाजिक सञ्जालमा लेखेका छन्।




