काठमाडौं, असार २९ । अनलाइन ठगी तथा अवैध क्रिप्टो कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा महोत्तरीको रामगोपालपुर नगरपालिका–९ घर भई हाल काठमाडौंको कोटेश्वर बस्दै आएका २१ वर्षीय सुभाषकुमार मण्डल तथा बंगलादेशका नागरिक एमडी जुबाएर अहमेद (२५), एमडी नुर आलम (२६), एमडी नासिम मिया (२४) र एमडी रानी कमाल (२७) रहेका छन्।
नेपाल प्रहरीको साइबर ब्यूरोबाट खटिएको टोलीले उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गौचर क्षेत्रबाट बंगलादेशतर्फ प्रस्थान गर्ने क्रममा पक्राउ गरेको हो।
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा उनीहरूले फेसबुकमार्फत आकर्षक रोजगारीको विज्ञापन प्रकाशित गरी “कतारस्थित कम्पनीमा अन्तर्वार्ता बिना नै प्रत्यक्ष रोजगारी” दिलाइदिने भन्दै सर्वसाधारणलाई प्रलोभनमा पारी शंकास्पद मोबाइल एप डाउनलोड गराएका थिए। उक्त एपमार्फत पीडितहरूको बैंक खाताबाट रकम अनधिकृत रूपमा अन्य खातामा स्थानान्तरण गरी ठगी गरेको खुलेको छ।
अनुसन्धानका क्रममा उनीहरू बाइनान्स मार्फत अवैध रूपमा क्रिप्टोकरेन्सी तथा यूएसडीटी कारोबारमा समेत संलग्न रहेको प्रहरीले जनाएको छ।
उनीहरूमाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




