काठमाडौं, साउन ५ । काठमाडौँको कीर्तिपुरस्थित चाँदनीचोकमा एउटा निजी कारभित्र जलेको अवस्थामा एक व्यक्तिको शव फेला परेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार कारमा आगलागी भएपछि भित्र मानिस रहेको देखेपछि स्थानीय र प्रहरीले ढोका खोलेर उद्धारको प्रयास गरेका थिए। तर, आगोको लप्का ठूलो भएकाले चालक वा यात्रुलाई बाहिर निकाल्न सकिएन।
घटनाको खबर पाएलगत्तै काठमाडौँ प्रहरीका एसपी पवन भट्टराईको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको छ। प्रारम्भिक अनुसन्धानका क्रममा उक्त दुर्घटनाग्रस्त कार नबिल बैंकको नाममा दर्ता रहेको खुलेको प्रहरीले जनाएको छ।
जलेको अवस्थामा फेला परेका व्यक्तिको सनाखत हुन बाँकी रहेको छ भने गाडीमा आगलागी हुनुको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।




