काठमाडौं, साउन १३ । मन्त्रिपरिषद् बैठकले राहदानी, विदेशी विनिमय, बाल संरक्षण, नागरिक उड्डयन, खानी तथा खनिज, मध्यस्थता लगायत विभिन्न क्षेत्रसँग सम्बन्धित नौवटा विधेयक संघीय संसद्मा दर्ता गर्न स्वीकृति दिएको छ।
सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलका अनुसार मन्त्रिपरिषद्ले राहदानी ऐन संशोधन, मानव बेचबिखन नियन्त्रण, बाल श्रम निषेध तथा नियमन, घरेलु हवाई सेवा दायित्व, संक्रामक पशुरोग नियन्त्रण, खानी तथा खनिज, मध्यस्थता र संवैधानिक निकायका पदाधिकारीको सेवा–सुविधासम्बन्धी विधेयक अघि बढाउने निर्णय गरेको हो।
त्यस्तै, विदेशी विनिमयसम्बन्धी कसुरको अनुसन्धान गर्ने अधिकार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका तोकिएका अधिकृतलाई दिने निर्णय गरिएको छ। साथै, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा सिन्धुलीका ऐदराज दाहाललाई नियुक्त गर्ने तथा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम (छैटौँ संशोधन) नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ।




