काठमाडौं, साउन २४ । नेपाली चलचित्र ‘गौंथली’ले बक्स अफिसमा आक्रामक व्यापार जारी राख्दै सफलताको नयाँ उचाइ छोएको छ।
करिब २ करोड ७५ लाख रुपैयाँको लागतमा निर्माण भएको यस फिल्मले आइतबार दिउँसोसम्म १९ करोड ४५ लाख रुपैयाँ कुल ग्रस कलेक्सन (नेट कमाइ १७ करोड) गरिसकेको छ भने फिल्म हेर्ने दर्शकको संख्या ७ लाख नाघेको छ।
सार्वजनिक बिदाका कारण आइतबार पनि हलहरूमा दर्शकको बाक्लो उपस्थिति रहेकाले फिल्मको कुल कमाइ चाँडै २० करोड नाघ्ने निश्चित प्रायः देखिएको छ। ‘गौंथली’ले नेपाली सिनेमा इतिहासका चर्चित हिट फिल्महरू ‘जारी’, ‘छक्कापञ्जा ४’ र ‘परान’को कुल कमाइलाई पछाडि पारिसकेको छ भने अब सर्वाधिक कमाइ गर्ने सूचीमा रहेको ‘१२ गाउँ’ (१९ करोड ९२ लाख) को रेकर्डलाई समेत उछिन्ने बलियो सम्भावना देखाएको छ।
हलमा ठूला प्रतिस्पर्धी फिल्म नहुनु र दर्शकबाट उत्कृष्ट ‘वर्ड अफ माउथ’ पाउनुले यसको व्यापार अझै केही साता सशक्त रहने देखिएको छ। फिल्मका निर्माता सुमन गिरी ‘भान्जा’ले यस सफलताले आफूहरूलाई मात्र नभई समग्र नेपाली चलचित्र क्षेत्रलाई नै ठूलो सकारात्मक ऊर्जा थपेको प्रतिक्रिया दिएका छन्।




