काठमाडौं, साउन २७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भदौ ७ देखि १४ गतेसम्म आठ दिने चीन भ्रमणमा जाने भएका छन्। चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को औपचारिक निमन्त्रणामा हुन लागेको उक्त भ्रमणमा लामिछानेले पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछन्।
भ्रमणका क्रममा बेइजिङमा चिनियाँ उपराष्ट्रपति हान झेङ, विदेशमन्त्री वाङ यी तथा सीपीसीको विदेश विभाग प्रमुख लिउ हाइसिङसँग उच्चस्तरीय भेटवार्ता गर्ने तालिका छ। राजधानी बेइजिङको कार्यक्रमपश्चात् प्रतिनिधिमण्डल तिब्बतको कैलाश मानसरोवर क्षेत्रतर्फ जाने तय भएको छ।
चिनियाँ कूटनीतिक प्रोटोकलअनुसार राष्ट्रपति सी चिनफिङसँग भने लामिछानेको भेट हुने सम्भावना नरहेको बताइएको छ। यसअघि लामिछानेले भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा पाँच दिने भारत भ्रमण पूरा गरिसकेका छन्।




