काठमाडौं, साउन २८ । प्युठानको स्वर्गद्वारी नगरपालिकाका विभिन्न स्थानमा खोलाको किनारमा पाँच जनाको बेवारिसे शव फेला परेको छ। बिहीबार बिहान करिब ७ः३० बजे माडी र लुङ्ग्री खोलाको किनारमा नाम, थर र वतन नखुलेका व्यक्तिहरूको शव फेला परेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ।
स्वर्गद्वारी नगरपालिका–९ जुडापाटास्थित माडी खोलाको किनारमा करिब १२/१३ वर्षीय बालकको शव फेला परेको छ। यस्तै, स्वर्गद्वारी–३ किमिचौरस्थित माडी खोलाको किनारमा कम्मरभन्दा माथिको भाग मात्र रहेको पुरुषको शव भेटिएको प्रहरीले जनाएको छ।
त्यसैगरी, स्वर्गद्वारी–४ गोठीबाङस्थित माडी खोलाको किनारमा एक महिलाको शव फेला परेको छ। स्वर्गद्वारी–५ सरोजास्थित लुङ्ग्री खोलाको किनारमा पनि दुई महिलाको शव फेला परेको छ, जसमध्ये एक शवको बायाँ खुट्टा घुँडादेखि तलको भाग नभएको प्रहरीले जनाएको छ।
फेला परेका शवहरूको हालसम्म पहिचान हुन सकेको छैन। प्रहरीले घटनाबारे थप अनुसन्धान तथा शवहरूको पहिचान गर्ने कार्य भइरहेको जनाएको छ। परिवारका सदस्य हराइरहेको भए जिल्ला प्रहरी कार्यालय प्युठानमा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ। सम्पर्क नम्बर ९८५७८३७०४९ र ९८५७८१५५५५ रहेका छन्।




