काठमाडौं, साउन २८ । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आज स्वदेश फर्किँदै छन्। विदेश गएको साढे पाँच महिनाभन्दा बढी समयपछि उनी पत्नी आरजु राणासहित थाइल्याण्डबाट नेपाल आउन लागेका हुन्। कांग्रेस नेता एवं पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतका अनुसार देउवा दम्पती आज दिउँसो साढे १२ बजे थाई एयरको उडानमार्फत काठमाडौं अवतरण गर्नेछन्। उनको स्वागतका लागि कांग्रेसका नेताहरू विमानस्थल पुगेका छन्।
देउवा गत फागुन १३ गते उपचारका लागि भन्दै सिंगापुर गएका थिए। त्यतिबेला भारत भ्रमणमा रहेकी उनकी पत्नी आरजु राणा पनि सिंगापुरमै पुगेर उपचार गराएकी थिइन्। त्यसपछि उनीहरू दुवै जना थप उपचारका लागि हङकङ गएका थिए। देउवा दम्पती विदेशमै रहेका बेला सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनीहरूविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धानको सिलसिलेमा पक्राउ पुर्जी जारी गरेका थिए। तर, उक्त पक्राउ पुर्जी कार्यान्वयन नगर्न माग गर्दै वारेसमार्फत सर्वोच्च अदालतमा दायर गरिएको रिटमा अदालतले उनीहरूलाई तत्काल पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको थियो।
कांग्रेसभित्र संस्थापन इतर पक्षले पूर्वप्रधानमन्त्री देउवाको भव्य स्वागत गर्ने तयारी गरेको छ। विमानस्थलमा कांग्रेसका पूर्वउपसभापति पूर्णबहादुर खड्का, नेताहरू प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, आनन्द ढुंगाना, मोहन बस्नेत र विमलेन्द्र निधि लगायतका नेताहरू स्वागतका लागि पुगिसकेका छन्। विमानस्थलबाट देउवालाई विशेष सुरक्षासहित उनको निजी निवास महाराजगञ्जसम्म पुर्याउने तयारी गरिएको छ।




