भक्तपुर, साउन २८ । सरकारले अव्यवस्थित बस्ती हटाएपछि विस्थापित भएका सुकुम्बासीहरूलाई राखिएको भक्तपुरको बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रको होल्डिङ सेन्टरमा फेरि अर्को त्रासदायी घटना घटेको छ। त्यहाँ बस्दै आएका ६० वर्षीय हिरालाल पासवान आफ्नै कोठाभित्र झुन्डिएको अवस्थामा मृत फेला परेका छन्।
वस्ती हटाइएपछि विस्थापित बनेका उनीहरूलाई राज्यले उक्त सेन्टरमा राखेको थियो। त्यहाँ रहेका अन्य सुकुम्बासीहरूका अनुसार पासवान हिजो दिउँसोदेखि नै कोठामै थिए भने आज बिहान उनी मृत अवस्थामा फेला परेका हुन्। घटनालगत्तै प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको छ।
सरकारले उचित विकल्प र राहत दिएर पुनर्स्थापना गर्नुको साटो टहरा मात्र भत्काउँदा उत्पन्न भएको चरम मानसिक तनावका कारण विस्थापितहरू विक्षिप्त बन्दै गएका छन्। यसअघि पनि टहरा भत्काइएपछि विचलित भएका एक सुकुम्बासीले आत्महत्या गरेका थिए। पछिल्लो पटक घटेको यो लगातारको घटनाले सरकारको सुकुम्बासी व्यवस्थापनको फितलो शैली र उनीहरूको मानसिक तथा सामाजिक सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ।




