काठमाडौं, साउन २८ । आस्था मिडियाका अध्यक्ष तथा ‘जनआस्था’ साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरी निवास खानतलासी गरिएको र सञ्चारमाध्यमको कार्यालयमा हातहतियारसहित प्रवेश गरेर सामग्री जफत गरिएको घटनाप्रति प्रेस काउन्सिल नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत तथा प्रवक्ता दीपक खनालद्वारा बिहीबार जारी प्रेस विज्ञप्तिअनुसार साउन २७ गते बुधबार राति सम्पादक श्रेष्ठलाई पक्राउ गरी उनको निजी निवासमा खानतलासी गरिएको र बिहीबार बिहान सञ्चारगृहको कार्यालयमा हतियारसहित प्रवेश गरी कम्प्युटरलगायतका सामग्रीहरू जफत गरिएको थियो।
विज्ञप्तिमा प्रेस तथा सञ्चारमाध्यमले व्यावसायिक आचारसंहिता उल्लंघन गरेको पाइएमा त्यसको छानबिन र कारबाहीका लागि प्रेस काउन्सिलमा उजुरी दिने स्थापित कानुनी व्यवस्था रहेको स्मरण गराइएको छ। साथै, ‘प्रेस काउन्सिल ऐन, २०४८’ ले प्रेस आचारसंहिता निर्माण गर्ने, पत्रकार तथा सञ्चारमाध्यमलाई जिम्मेवार र उत्तरदायी बनाउने तथा प्रेस स्वतन्त्रताको संरक्षण गर्ने मुख्य जिम्मेवारी काउन्सिललाई सुम्पिएको कुरासमेत विज्ञप्तिमा स्पष्ट पारिएको छ।





