काठमाडौं, भदौ ४ । नेपालमै पहिलोपटक आयोजना हुन लागेको पुरुष भलिबलको फ्रेन्चाइज प्रतियोगिता ‘नेपाल भलिबल लिग’ (एनभीएल) को मुख्य प्रायोजकका रूपमा एक्सट्रिम इनर्जी ड्रिंक रहने भएको छ।
केडिया ग्रुपको आयोजनामा सञ्चालन हुन लागेको एनभीएल र एग्रो थाई फुड्स प्रालिको उत्पादन एक्सट्रिम इनर्जी ड्रिंकबीच आगामी ३ वर्ष (तीन संस्करण) का लागि मुख्य प्रायोजन सम्झौता भएको हो। बुधबार आयोजित पत्रकार सम्मेलनमा सम्झौता पत्रमा नेपाल भलिबल लिगका प्रबन्ध निर्देशक अश्विन केडिया र एग्रो थाई फुड्स प्रालिकी बिजनेस हेड सोनिया रानाले हस्ताक्षर गर्नुभयो। उक्त सम्झौता तीन वर्षका लागि पौने तीन करोड बराबर रहेको एनभिएलका सिईओ सन्तोष उपाध्यायले जानकारी दिए ।
सम्झौतासँगै अब प्रतियोगिताको नयाँ नाम ‘एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग’ रहनेछ। आयोजक केडिया ग्रुपले नेपाली पुरुष भलिबल इतिहासमै पहिलोपटक खेलाडी अक्सन समेत सम्पन्न गरेको छ। अक्सनका लागि कुल १२९ खेलाडी दर्ता भएकामा अन्तिम समयमा २ जनाले नाम फिर्ता लिएका थिए।
अक्सनको नियमअनुसार सहभागी ६ वटा टोलीले अनिवार्य रूपमा क्याटगोरी ‘ए’ का ४-४ जना खेलाडी टोलीमा समावेश गर्नुपर्ने प्रावधान थियो। अक्सनमा सहभागी ‘ए’ क्याटगोरीका ५४ खेलाडीमध्ये २४ जना विभिन्न टोलीमा बिक्री भएका छन्।
प्रतियोगितालाई अझ प्रतिस्पर्धी र आकर्षक बनाउन हरेक टिमले समान ३ जनाका दरले कुल १८ जना विदेशी खेलाडी अनुबन्ध गर्नेछन्। यसका साथै, स्थानीय प्रतिभालाई अवसर दिन हरेक टोलीले अनिवार्य रूपमा एक-एक जना खेलाडी ‘ट्यालेन्ट हन्ट’ मार्फत छनोट गरी टोलीमा राख्नुपर्नेछ।
नेपाल भलिबल संघ (एनभिए) र केडिया ग्रुपबीच २०८१ जेठमै पहिलोपटक फ्रेन्चाइज लिग आयोजना गर्नेसम्बन्धी सम्झौता भएको थियो। दुई वर्षअघि नै सम्झौता भए तापनि विभिन्न प्राविधिक कारणले गर्दा लिग समयमै हुन सकेको थिएन। लामो पर्खाइ र तयारीपछि अब लिग सञ्चालनको अन्तिम चरणमा पुगेको हो।
मुख्य प्रायोजक एक्सट्रिमसँगको ३ वर्षको सहकार्यलाई आगामी दिनमा अझ फराकिलो र मजबुत बनाउँदै लैजाने आयोजकले विश्वास व्यक्त गरेको छ।




