काठमाडौं, भदौ ५ । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक शुक्रबारदेखि पार्टीको केन्द्रीय कार्यालय वनस्थुलीमा सुरु भएको छ। बैठकमा आगामी स्थानीय तहको निर्वाचनको तयारी, सांगठनिक विस्तार, उम्मेदवार छनोट र ‘राइट टु रिकल’ जस्ता महत्त्वपूर्ण एजेन्डामाथि छलफल भइरहेको छ।
तर, पार्टीका लागि रणनीतिक रूपमा यो महत्त्वपूर्ण बैठक चलिरहँदा पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह भने उपस्थित छैनन्। बैठक सुरु भएको दिन नै उनी पूर्वघोषणाबिना सडक मार्ग हुँदै मुस्ताङतर्फ प्रस्थान गरेका छन्।
सरकारी गाडीमा धादिङ हुँदै पोखरातर्फ गएका शाहले कास्कीको अन्नपूर्ण क्षेत्रस्थित एक रिसोर्टमा रात बिताएर मुस्ताङ जाने कार्यक्रम तय गरेका छन्। यो भीभीभीआईपी भ्रमणका लागि गृह मन्त्रालय वा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट कुनै पनि पूर्वसुरक्षा जानकारी नआएको कास्की र मुस्ताङका सुरक्षा अधिकारीहरूले पुष्टि गरेका छन्। प्रधानमन्त्रीको सचिवालय र स्थानीय पार्टी प्रतिनिधिहरूले पनि भ्रमणको आधिकारिक उद्देश्यबारे अनभिज्ञता प्रकट गरेका छन्।
रास्वपा बैठकमा बालेनको अनुपस्थिति यो पहिलो पटक भने होइन। यसअघि बुधबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकमा पनि उनी सहभागी थिएनन्। रास्वपामा विलय भएपछि वरिष्ठ नेता र संसदीय दलको नेताको जिम्मेवारी सम्हाले पनि प्रधानमन्त्री शाहको पार्टीको नियमित प्रशासनिक तथा सांगठनिक बैठकहरूप्रति उदासीन रहने प्रवृत्ति दोहोरिँदै आएको छ।




