काठमाडौं, भदौ ५ । काठमाडौंको शंखमूलस्थित भ्याली ब्वाइज होस्टलमा भएको विवादमा गम्भीर घाइते भएका २२ वर्षीय वसन्त कालाथोकीको उपचारका क्रममा मृत्यु भएको छ।
दाङको घोराही उपमहानगरपालिका–१७ घर भई सोही होस्टलमा बस्दै आएका कालाथोकीमाथि होस्टलमै विवाद हुँदा कुटपिट तथा धारिलो हतियार प्रहार भएको थियो।
होस्टलमा भएको आपसी विवादमा बाराका १८ वर्षीय शेखर यादव र करिब २० वर्षीय प्रमित पटेलले कालाथोकीमाथि कुटपिट गर्नुका साथै टाउको र घाँटीमा धारिलो हतियार प्रहार गरेका थिए जसले गर्दा गम्भीर घाइते भएका उनलाई तत्काल मीनभवनस्थित निजामती कर्मचारी अस्पताल लगिए पनि उपचारका क्रममा उनको ज्यान गएको हो। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले शेखर यादवलाई पक्राउ गरी अनुसन्धान अघि बढाइरहेको छ भने फरार रहेका अर्का आरोपित प्रमित पटेलको खोजी तीव्र पारिएको छ, यद्यपि होस्टलमा झगडा हुनुको वास्तविक कारण र प्रयोग भएको हतियारबारे भने प्रहरीले थप अनुसन्धान गरिरहेको छ।




