काठमाडौं, भदौ १० । तिब्बततर्फ हिमताल विस्फोट भएको आशंकापछि रसुवाको टिमुरे र स्याफ्रुबेँसी क्षेत्रमा भोटेकोशी तथा त्रिशूली नदीमा भीषण बाढी आएको छ। बाढीका कारण टिमुरेस्थित रसुवा भन्सार कार्यालयसहित आसपासका बजार तथा विभिन्न भौतिक संरचनामा ठूलो क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको छ।
बाढीको जोखिम बढेसँगै सरकारले सम्भावित क्षति न्यूनीकरणका लागि सुरक्षा निकाय तथा विपद् व्यवस्थापन संयन्त्रलाई तयारी अवस्थामा राखेको छ। प्रभावित क्षेत्रको अवस्था निरन्तर निगरानी गर्दै आवश्यक उद्धार तथा राहतका लागि सम्बन्धित निकायबीच समन्वय भइरहेको जनाइएको छ।
भोटेकोशी तथा त्रिशूली नदीको जलस्तर बढ्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ। नदीको बहाव बढ्ने सम्भावना रहेकाले तटीय क्षेत्रमा थप जोखिम हुन सक्ने भन्दै स्थानीय प्रशासन तथा सुरक्षा निकायले आवश्यक सावधानी अपनाउन अनुरोध गरेका छन्।
सरकार तथा सम्बन्धित निकायले नदी किनार, बाढी तथा पहिरोको जोखिम भएका क्षेत्रमा नजान, अत्यावश्यक बाहेक लामो यात्रा नगर्न र सुरक्षित स्थानमा रहन सर्वसाधारणलाई अपिल गरेको छ। साथै, विपद्सम्बन्धी जानकारीका लागि सामाजिक सञ्जालमा फैलिएका अपुष्ट सूचनाभन्दा स्थानीय प्रशासन तथा सम्बन्धित सरकारी निकायबाट जारी हुने आधिकारिक सूचनालाई मात्र आधार बनाउन आग्रह गरिएको छ।




