काठमाडौं, भदौ १० । चीनमा भएको भारी वर्षापछि भोटेकोशी नदीमा आएको भीषण बाढीले रसुवा र नुवाकोटस्थित १३ वटा जलविद्युत् आयोजनामा गम्भीर क्षति पुर्याएको छ। जल तथा मौसम विज्ञान विभाग, नेपाल विद्युत प्राधिकरण र ऊर्जा प्रवर्द्धक कम्पनीहरूका अनुसार कुल ७४८.१२ मेगावाट क्षमताका आयोजनाहरू बाढीको प्रत्यक्ष प्रभावमा परेका छन्।
बाढीका कारण नदीमा आएको लेदो र बालुवाका कारण सञ्चालनमा रहेका ८ वटा आयोजनाबाट उत्पादन भइरहेको ३५४.१ मेगावाट बिजुली राष्ट्रिय ग्रिडबाट विच्छेद भएको छ। रसुवामा रसुवागढी (१११ मेगावाट), सान्जेन खोला (७८ मेगावाट), चिलिमे (२२ मेगावाट) र लाङटाङ खोला (२० मेगावाट) गरी २३१ मेगावाटको उत्पादन ठप्प भएको छ। नुवाकोटतर्फ विद्युत् प्राधिकरणका माथिल्लो त्रिशूली–३ए (६० मेगावाट), त्रिशूली (२४ मेगावाट), देवीघाट (१४.१ मेगावाट) र नुवाकोट ग्रिड सोलार (२५ मेगावाट) गरी १२३.१ मेगावाट उत्पादन अवरुद्ध भएको छ। एक्कासि ३५४ मेगावाटभन्दा बढी बिजुली कटौती हुँदा काठमाडौँ उपत्यका र आसपासका औद्योगिक क्षेत्रमा ऊर्जा व्यवस्थापन जटिल बनेको छ।
निर्माणको अन्तिम चरणमा रहेका ३९४ मेगावाटका ५ वटा आयोजनाहरूमा बाढीले अझ ठूलो भौतिक क्षति पुर्याएको छ। रसुवामा निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ को पहुँचमार्ग, टनेल र क्याम्प क्षतिग्रस्त भएका छन् भने १२० मेगावाटको रसुवा–भोटेकोशी र ६.४२ मेगावाटको माथिल्लो मैलुङ–ए का बाँध र पेनस्टक संरचना बाढीले बगाएको छ। नुवाकोटमा निर्माणाधीन माथिल्लो त्रिशूली–३बी (३७ मेगावाट) र मिडल त्रिशूली गंगा (१५.६ मेगावाट) मा बाढी पसेर निर्माण सामग्री तथा सिभिल संरचना नष्ट भएका छन्।
यस प्राकृतिक विपद्को सर्वाधिक मार निजी ऊर्जा प्रवर्द्धकहरूमाथि परेको छ। प्रभावित कुल १३ आयोजनामध्ये ९ वटा निजी क्षेत्रका (६२५ मेगावाट अर्थात् ८३.५ प्रतिशत) छन्। इप्पानका अनुसार निजी हाइड्रोपावरमा मात्रै ५ अर्ब रुपैयाँभन्दा बढीको नोक्सानी भएको प्रारम्भिक अनुमान छ।
भौतिक पूर्वाधारतर्फ लाङटाङ खोला आयोजनाका दुई वटा प्रसारण टावर ढलेका छन् भने माथिल्लो त्रिशूली–३ए को स्विचयार्ड नजिकैको डाँडो भासिएकाले रोकथामको प्रयास भइरहेको छ। राजमार्ग तथा सडक सञ्जाल अवरुद्ध भएकाले मर्मत टोली पुग्न सकस भइरहेको छ। प्राधिकरणका अनुसार नदीको सतह घट्ने बित्तिकै आकस्मिक मर्मत गरी १ देखि ३ हप्ताभित्र सञ्चालित आयोजनाहरूबाट पुनः बिजुली उत्पादन सुरु गर्ने लक्ष्य राखिएको छ।




