काठमाडौं, भदौ १७ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि सरकारले खोज, उद्धार र राहत वितरणसँगै प्रभावित क्षेत्रमा सम्भावित महामारी रोक्न विशेष अभियान सुरु गरेको छ।
बाढीलगत्तै गम्भीर घाइतेहरूलाई काठमाडौँ ल्याएर उपचार गरिएको थियो भने अहिले विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोलीले प्रभावित क्षेत्रमै पुगेर स्वास्थ्य सेवा र मनोपरामर्श प्रदान गरिरहेको छ। राष्ट्रिय स्वास्थ्य, शिक्षा, सूचना तथा सञ्चार केन्द्रमार्फत स्वास्थ्य सुरक्षाका जनचेतनामूलक सूचनाहरू प्रवाह हुनुका साथै ज्वरो र झाडापखालाको जोखिम नियन्त्रणका लागि ‘सोरमास’ प्रणाली सञ्चालनमा ल्याइएको छ।
यसैगरी, ‘विपद्–पश्चात् सरुवा रोग निगरानी तथा प्रतिकार्य योजना’ प्रभावकारी बनाउन स्थानीय तहका अधिकारीहरूलाई तालिम दिइएको छ। नेपाली सेनाको टोलीले प्रभावित क्षेत्रमा नियमित गस्ती तथा संक्रमण रोकथामका लागि ‘डिकन्ट्यामिनेसन’ (जीवाणु तथा प्रदूषण उन्मूलन) कार्य गरिरहेको छ भने नेपाल प्रहरीको ‘सोको’ टोलीद्वारा सुरक्षित रूपमा शव व्यवस्थापनको काम भइरहेको छ।




