तनहुँ, असोज ११ । नेपाली कांग्रेस तनहुँ क्षेत्र नम्बर १ को आगामी अधिवेशन नजिकिँदै गर्दा यस क्षेत्रमा नयाँ नेतृत्व चयनलाई लिएर विभिन्न राजनीतिक चर्चा र आन्तरिक तयारी तीव्र बनेको छ। यसै सन्दर्भमा, पार्टीभित्र लामो समयदेखि सक्रिय युवा नेता तथा वरिष्ठ सञ्चारकर्मी नवीनराज पौडेलले आगामी १५औँ महाधिवेशनका लागि खुला महाधिवेशन प्रतिनिधि पदमा आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा गर्नुभएको छ।
‘अब पालो युवा पुस्ताको, रूपान्तरणसहितको कांग्रेस–अबको कांग्रेस’ भन्ने मुख्य नारासहित मैदानमा उत्रनुभएका पौडेलले क्षेत्र नम्बर १ को सङ्गठन सुदृढीकरण, प्रभावकारी युवा परिचालन र समग्र विकासलाई आफ्नो उच्च प्राथमिकतामा राख्नुभएको छ।
लामो राजनीतिक तथा व्यावसायिक यात्रा
लामो समयदेखि कांग्रेस राजनीतिमा सक्रिय पौडेल नेपाली कांग्रेस केन्द्रीय प्रचार–प्रसार समितिमा करिब १५ वर्षदेखि आबद्ध हुनुहुन्छ। यसअघि नेपाली कांग्रेस चितवनको जिल्ला सदस्य भइसकेका उनी नेपाल प्रेस युनियनका केन्द्रीय महाधिवेशन प्रतिनिधि हुन्। साथै, उनी सामुदायिक रेडियो प्रसारक सङ्घ नेपाल (अकोराब) को केन्द्रीय समितिमा पनि एक दशकदेखि सक्रिय रूपमा कार्यरत छन्। सिर्जनशील लेखन तथा सञ्चार क्षेत्रमा परिचित पौडेलले कांग्रेसका दर्जनौँ साङ्गीतिक सिर्जना र हजारौँ विज्ञापन सामग्री तयार गरिसक्नुभएको छ। व्यास नगरपालिका–८, रिस्तीका स्थायी बासिन्दा पौडेल महामन्त्री गगन थापानिकट नेताका रूपमा परिचित छन्।
क्षेत्रीय नेतृत्वका लागि सम्भावित उम्मेदवारहरूको चर्चा
अधिवेशनको मिति नजिकिँदै जाँदा क्षेत्रीय नेतृत्वका लागि सम्भावित उम्मेदवारहरूको नामसमेत चर्चामा आउन थालेको छ। क्षेत्रीय सभापतिका लागि युवा नेता नवीनराज पौडेलसहित वर्तमान प्रदेश सभापति बिशेश्वर खनाल, नगर सभापति सूर्यचन्द्र हड्खले, बन्दीपुरका कर्ण खत्री र भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठी लगायतका नेताहरूको नाम चर्चामा रहेको छ। पछिल्लो समय कांग्रेसभित्र अनुभव र युवा पुस्तालाई सँगसँगै लैजानुपर्ने तथा सङ्गठनलाई चलायमान बनाउन युवाहरूलाई नेतृत्वमा ल्याउनुपर्ने आवाज कार्यकर्तास्तरबाट बलियो बन्दै गएको छ।
जल्दोबल्दो राजनीतिक समीकरण र जनसम्पर्क
पछिल्ला चार वर्षयता तनहुँका पाँच वटै पालिकाका गाउँ–गाउँमा पुगेर जनसम्पर्क र सामाजिक अभियान तीव्र बनाउनुभएका पौडेलको सक्रियतालाई यहाँको राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ। व्यास नगरपालिकाका प्रमुख एवं वरिष्ठ नेता वैकुण्ठ न्यौपानेको समेत साथ रहने चर्चाले यहाँको राजनीतिक समीकरण थप रोचक बनेको छ।
यद्यपि अधिकांश उम्मेदवारहरूले औपचारिक घोषणा गर्न बाँकी नै छ, तर अधिवेशन नजिकिँदै जाँदा तनहुँ क्षेत्र नम्बर १ मा सक्षम, ऊर्जायुक्त र गतिशील नेतृत्व चयन हुनेमा कार्यकर्ताहरू विश्वस्त देखिएका छन्।




