काठमाडौं, असोज १४ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
आज दिउँसो कोशी र बागमती प्रदेशको हिमाली र पहाडी भू-भाग तथा गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमामा साधारणतया बादल लाग्ने, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागमा आंशिक बादल लाग्नेछ। देशका तराई भू-भागमा आंशिक बादल लाग्नेछ। देशका हिमाली भू-भागको एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ । देशका पहाडी भू-भागको थोरै स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ ।
आज राती कोशी र बागमती प्रदेशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्ने तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ। देशका तराई भू-भागमा आंशिक बादल लाग्नेछ । कोशी र बागमती प्रदेशको हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ ।
यस्तै, मौसम पूर्वानुमान महाशाखाले आगामी असोज १७ गतेदेखि तीन दिनसम्म मुलुकभर भीषण वर्षा हुने भनी फैलाइएको समाचार तथा हल्ला भ्रामक भएको स्पष्ट पारेको छ।
महाशाखाद्वारा जारी आधिकारिक सूचना अनुसार, असोज १७ गतेदेखि लगातार ३ दिन भीषण वर्षा हुने भन्दै सोधपुछ बढेपछि ध्यानाकर्षण भएको र त्यस्तो कुनै पूर्वानुमान नगरिएको उल्लेख गरिएको छ। हाल मौसमी गतिविधिमा कुनै खास फेरबदल नपाइएकाले सर्वसाधारणलाई असत्य र भ्रामक समाचारको पछि नलाग्न तथा त्यस्ता हल्ला नफैलाउन आग्रह गरिएको छ।
मौसमसम्बन्धी सही तथा अद्यावधिक (अपडेट) जानकारीका लागि महाशाखाको आधिकारिक वेबसाइट, सामाजिक सञ्जाल वा फोन नम्बर ११५५ मा सम्पर्क गर्न महाशाखाले सर्वसाधारणलाई अनुरोध गरेको छ।




