काठमाडौं, असोज १४ । नेपालमा लामो समयदेखि लोकप्रिय रहेको ‘रारा’ तयारी चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा मापदण्डअनुरूप नपाइएको भन्दै बजारबाट फिर्ता गर्न निर्देशन दिइएको छ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले प्रयोगशाला परीक्षणका क्रममा पोखरास्थित हिमश्री फुड्स प्रा.लि.द्वारा उत्पादित ६० ग्रामको ‘रारा तयारी चाउचाउ’ को ब्याच नं. REG 01 तोकिएको मापदण्डअनुसार नभएको जनाएको छ।
परीक्षणबाट गुणस्तरसम्बन्धी समस्या देखिएपछि विभागले उक्त ब्याचका चाउचाउको बिक्री–वितरण रोक्न तथा बजारमा पुगेका उत्पादन तत्काल फिर्ता (रिकल) गर्न उत्पादक कम्पनीलाई निर्देशन दिएको छ।
विभागले सम्बन्धित उत्पादनको बजार अनुगमन तथा फिर्ता प्रक्रियालाई अघि बढाएको जनाएको छ। उपभोक्तालाई पनि उक्त ब्याच नम्बरको चाउचाउ बिक्रीका लागि राखिएको पाइएमा सम्बन्धित निकायमा जानकारी गराउन आग्रह गरिएको छ।
यसैबीच, ‘रारा’ ब्रान्डका सबै उत्पादन गुणस्तरहीन भएको अर्थ नलाग्ने र विभागको कारबाही सम्बन्धित ब्याच नं. REG 01 मा केन्द्रित रहेको विषयलाई स्पष्ट रूपमा बुझ्न आवश्यक छ।




