काठमाडौं, असोज २७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारमाथि सञ्चारमाध्यममा सार्वजनिक भएका गम्भीर आरोपबारे आन्तरिक छानबिन अघि बढाएको छ। पार्टीले छानबिन निष्कर्षमा नपुग्दासम्म सांसद सुनारलाई सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिएको छ।
रास्वपाका महामन्त्री विपिनकुमार आचार्यद्वारा जारी विज्ञप्तिमा सांसद सुनारसँग सम्बन्धित समाचार, सार्वजनिक श्रव्य सामग्री (अडियो) तथा उनका विषयमा उठेका प्रश्नहरूप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ।
विज्ञप्तिमा महिलाको मर्यादा र सम्मानमा आँच पुर्याउने कार्य, अनुचित दबाब, अवाञ्छित धम्की तथा शङ्कास्पद आर्थिक लेनदेनसम्बन्धी विषयलाई अत्यन्त संवेदनशील रूपमा लिइएको उल्लेख छ। यी विषयहरू सञ्चारमाध्यममा आरोपका रूपमा आएकाले सत्यतथ्य पत्ता लगाउन पार्टीको केन्द्रीय अनुशासन आयोगलाई तत्काल छानबिन प्रक्रिया अघि बढाउन निर्देशन दिइएको छ।
रास्वपाले महिलामाथि हुने दुर्व्यवहार, पदीय मर्यादाको उल्लंघन र फौजदारी कसुरका विषयमा आफ्नो नीति ‘शून्य सहनशीलता’ को हुने स्पष्ट पारेको छ।
पार्टीले राज्यका सम्बन्धित निकायबाट हुने स्वतन्त्र, निष्पक्ष र तथ्यपरक अनुसन्धानमा पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरेको छ। ‘कानुनभन्दा माथि कोही पनि हुँदैन’ भन्ने लोकतान्त्रिक मान्यतामा रास्वपा दृढ रहेको उल्लेख गर्दै, राज्यको अनुसन्धान र आन्तरिक छानबिनबाट आउने निष्कर्षका आधारमा कानुन तथा पार्टी विधानबमोजिम थप कदम चालिने बताइएको छ। साथै, कानुन उल्लंघन वा पदीय आचरणविपरीत कार्य गर्ने जो कोहीलाई पनि राजनीतिक संरक्षण नदिने पार्टीको अडान रहेको छ।




