चितवन, १५ असोज ।
चिकित्सकहरुले रातो मासु खांँदा क्यान्सरको जोखिम हुने बताएका छन् । चाडपर्वको खाना र स्वास्थ्य बिषयक चिकित्सक– पत्रकार अन्तरक्रिया कार्यक्रममा उनीहरुले रातोमासु धेरै नखान सुझाव दिएका हुन् ।
रातोमासु जनुसुकै तरीकाले पोलेर, तारेर र पकाएर खांँदा आन्द्राको, आमाशायको, प्रोस्टेट क्यान्सरको जोखिम हुने चिकित्सकको भनाई थियो । वीपी कोइराला क्यान्सर अस्पतालका वरिष्ठ मेडिकल अंकोलोजिष्ट डा. ध्रुवशरण शाहले रातो मासुका कारण पछिल्लो समय क्यान्सरका रोगी देखा परेको बताउनु भयो । ‘रातो मासु आफैंमा क्यान्सरको कारक हो उहांँले भन्नुभयो, रातो मासु चाहे पकाएर खानुस या पोलेर तारेर ।’
रातो मासु हुने पशुको मासु खान नहुने भन्दै उहांँले सेतो मासु स्वास्थ्यको लागि उत्तम हुने बताउनु भयो । दशैंजस्ता चाडपर्वमा माछा, कुखुरा तथा हांँसको मासु खान उहांँले सुझाव दिनुभयो । ‘रातो मासु थोरै खांँदा स्वास्थ्यमा त्यति असर नपुरयाउला तर यसले शरिरमा बिषाक्त हर्मोन उत्पादन सघाउ पुग्छ ।’ उहांँले भन्नुभयो ।
डा. शाहले मासु खाए पनि सँगसँगै फलफूल र तरकारी लगायतका फाईबरयुक्त खानेकुराहरु खांँदा क्यान्सरको जोखिम कम हुने उहांँको भनाई थियो ।
कार्यक्रममा बोल्दै वरिष्ठ फिजिसियन डा महेन्द्र अग्रहरी दशैँको समयमा खानामा सन्तुलन कायम गर्न नसक्दा क्यान्सरदेखि अन्य दीर्घरोगहरुको समेत जोखिम हुने बताउनु भयो । चाडपर्वमा मासुजन्य बढी खाने हुँदा पाचन प्रक्रियामा समस्या आउने, स्मरणशक्ति कम हुने, मधुमेहको समस्या बढ्ने र उच्च रक्तचापको समस्या देखिन सक्ने बताउनुभयो । ‘एकै पटक धेरै मासु र चिल्लो पदार्थ खाँदा पेट देख्ने, डायरिया हुने, ग्यास्टिक हुने सम्भावना रहेको बताउँदै डा. अग्रहरीले भन्नुभयो, “यस्ता खानाले ब्रेनमा पनि असर गर्छ, स्मरणशक्ति हराउन सक्छ ।”
प्याकेटका तयारी खाना, तारेका खान खाँदा शरीरलाई हानी पुग्ने उहाँले बताउनु भयो । मासु मासुको बढी प्रयोगले दीर्घरोग निम्ताउन सक्ने बताउँदै डा। अग्रहरीले भन्नुभयो “बढी मासु प्रयोग गर्दा मुटुमा हर्मनहरु असन्तुलित हुन्छ र मुटुको चाल र चाप बढाउँछ ।”
दशैंमा समयमा चिल्लोपन कम भएको सन्तुलित खाना खान उहाँले सुझाव दिनुभयो । उहाँले भन्नुभयो “यो बेला धेरै फाईबर, फलफूल, सागपातको मात्रा बढाउनु पर्छ ।” उहाँले थप्नुभयो “चाडपर्वमा थोरै खाने, सन्तुलित खाने र बारम्बार खाने गर्दा पेटलाई पचाउन सजिलो हुन्छ ।” लामो समय फ्रिजमा राखेको मासु नखान सुझाव दिंदै त्यस्तो मासु खादै नखान उहाँको आग्रह थियो ।
मधुमेहका बिरामीहरुलाई कोलेस्ट्रोल बढ्न सक्ने भएकाले मासु कम खान उहाँले सुझाव दिनुभयो । मासुले मोटोपन, तौल बढाउने बताउँदै उहाँले भन्नुभयो “एकै पटक धेरै र अस्वस्थकर खाना खानु निकै हानिकारक हो ।”




