नयाँदिल्ली, ३ कात्तिक ।
मध्य प्रदेश राज्यको एउटा पटाका गोदाममा बिहीबार भएको विस्फोटमा एक बालक, एक महिला र एक पुरुष गरी तीन जनाको मृत्यु हुनाका साथै अन्य धेरै घाइते भएका छन् ।
एक जना स्थानीय प्रहरीले सिन्ह्वालाई फोनमा बताएका अनुसार मोरेना जिल्लामा उक्त दुर्घटना भएको हो । सात जना घाइतेलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ ।
विष्फोटका कारण भवन भत्किँदा धेरैजना भग्नावशेषमा फसेका थिए । यही कात्तिक ७ गते भारतभर मनाइने दिपावली पर्वका लागि बनाइएका पटाका गोदाममा भारी मात्रामा भण्डार गरिएको थियो ।
प्रहरीका अनुसार तीन जनाको शव फेला परेको छ ।उनीहरूको परिचय खुल्न बाँकी छ । भग्नावशेषमा अझै धेरै मानिस फसेका हुनसक्ने जनाउँदै प्रहरीले खोज तथा उद्धार जारी रहेको बताएको छ । रासस/सिन्ह्वा




