विश्व फुटबलको कुम्भमेला फिफा विश्वकप २०२२ को उद्घाटन खेलमा इक्वेडर विजयी भएको छ । कतारमा भव्य उद्घाटनसँगै अल बायत स्टेडियममा कतार र इक्वेडरले शनिबार राति उद्घाटन खेल खेलेका हुन् । इक्वेडर २–० गोलले विजयी भएको हो ।
इक्वेडरका कप्तान एनर भ्यालेन्सियाले पहिलो हाफमा गरेका दुई गोल नै यो खेलका लागि निर्णाय बने । इक्वेडरका भ्यालेन्सियाले पहिलो गोल खेलको १६ औं मिनेटमा पेनाल्टी सुटआउटमा गरेका थिए । उनले दोस्रो गोल खेलको ३१ औं मिनेटमा गरे । अहिलेसम्म विश्वकपको पहिलो खेलमा पहिलो गोल पेनाल्टीबाट भएको यो पहिलो पटक हो ।
कतारका प्रशिक्षक फेलिक्स साञ्चेजले ६ महिना लामो तयारी गरेको भए पनि कतारले त्यो तयारीको नतिजा निकाल्न सकेन । कतारका खेलाडी आफ्नै घरेलु मैदानमा नर्भस देखिए । अफ्रिकी कप अफ नेसन्स च्याम्पियन सेनेगेल र युरोपको शत्तिशाली नेदरल्याण्ड्स रहेको समूहमा परेको कतारलाई इक्वेडरसँगको खेल सहज मानिएको थियो । तर कतारले आशा गरे अनुसार खेल्न सकेन ।
भ्यालेन्सियासामु रेकर्डको अवसर
विश्वकप फुटबलमा इक्वेडरका लागि अन्तिम पाँच गोल भ्यालेन्सियाले नै गरेका छन् । यसअघि पोर्चुगलका युसेयिबो, इटालीका पाओलो रोस्सी, रुसका ओलेग सालेन्कोले आआफ्नो देशका लागि विश्वकपमा लगातार ६ गोल गरेर रेकर्ड बनाएका छन् । अब भ्यालेन्सियाले अर्को खेलमा इक्वेडरको पहिलो गोल गरेमा उनी यही रेकर्डको समान हुनेछन् ।




