सूर्यप्रकाश कँडेल ।
प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको प्रत्यक्षतर्फको नतिजा आइसकेको छ भने समानुपातिकतर्फको मतगणना पनि सकिएको छ । जम्मा १६५ सिटको प्रत्यक्षतर्फ नेपाली काँग्रेस ५७, नेकपा एमाले ४४, नेकपा माओवादी केन्द्र १८, राष्ट्रिय स्वतन्त्र पार्टी ७, राष्ट्रिय प्रजातन्त्र पार्टी ७, जनता समाजवादी पार्टी ७, नेकपा एकीकृत समाजवादी १०, जनमत पार्टी ६, लोकतान्त्रिक समाजवादी पार्टी ४, नागरिक उन्मुक्ति पार्टी ३, राष्ट्रिय जनमोर्चा १, नेपाल मजदुर किसान पार्टी १ र स्वतन्त्र ५ ठाउँमा निर्वाचित भएका छन् ।
समानुपातिकतर्फ काँग्रेसले २६ लाख ६० हजार २४६ मत पाएको छ । उसले ३१ सिट पाउने अनुमान गरिएको छ । एमालेले २७ लाख ८८ हजार ३५६ मत ल्याएको छ । उसले ३४ सिट पाउने अनुमान छ । ११ लाख ६२ हजार १२४ मत ल्याएको माओवादी केन्द्रले १४ सिट पाउने अनुमान छ । ११ लाख २४ हजार ५४३ मत ल्याएको रास्वपाले पनि १४ सिट पाउने अनुमान छ । ५ लाख ८६ हजार ६३८ मत ल्याएको राप्रपाले ७ सिट, ४ लाख २० हजार ९४६ मत ल्याएको जसपाले ५ सिट र ३ लाख ९४ हजार ५२३ मत ल्याएको जनमत पार्टीले पनि ५ सिट पाउने अनुमान छ ।
प्रत्यक्षतर्फ १२ वटा पार्टीका उम्मेदवार विजयी भएका छन् भने समानुपातिकतर्फ ३ प्रतिशत थ्रेसहोल्ड मत कटाएर ७ वटा पार्टीमात्र राष्ट्रिय पार्टी बनेका छन् । सम्भावित सत्ता समीकरण तिनै ७ दलको सेरोफेरोमा निर्माण हुने देखिन्छ । यसमा प्रत्यक्षतर्फ १० सिट जितेर पनि राष्ट्रिय पार्टी बन्न नसकेको तर समग्रमा सातौँ ठूलो एकीकृत समाजवादी पनि सत्ता समीकरणको एक महत्वपूर्ण भाग बन्न सक्ने देखिन्छ ।
सत्ता समीकरण बुझ्नका लागि पहिले प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० गरी प्रतिनिधिसभामा २७५ जना सदस्यको संसदमा बहुमत जसले पु¥याउँछ, उसैको सरकार बन्छ भन्ने बुझ्नुपर्छ । संविधानले निर्दिष्ट गरे अनुसार कुनै एक दलको बहुमत पुगेको खण्डमा उसैले सरकार बनाउन पाउँछ ।
अहिलेको चुनावी नतिजाले कुनै एक दललाई बहुमत दिएको छैन । सबैभन्दा ठूलो दल नेपाली काँग्रेसले प्रत्यक्षतर्फ जितेको ५७ सिट र समानुपातिकबाट उसले पाउन सक्ने अनुमानित ३१ सिट जोड्दा ८८ सिट हुन्छ । दोस्रो स्थानमा रहेको एमालेले प्रत्यक्षतर्फको ४४ र समानुपातिकतर्फको सम्भावित ३४ सिट जोड्दा ७८ सिट हुन्छ ।
माओवादी केन्द्रको प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ सम्भावित १४ गरी ३२, रास्वपाको प्रत्यक्षतर्फ ७ र समानुपातिकतर्फ सम्भावित १४ गरी २१, राप्रपाको प्रत्यक्षतर्फ ७ र समानुपातिकतर्फ सम्भावित ७ गरी १४, जसपाको प्रत्यक्षतर्फ ७ र समानुपातिकतर्फ सम्भावित ५ गरी १२ र जनमत पार्टीको प्रत्यक्षतर्फ १ र समानुपातिकतर्फ सम्भावित ५ गरी ६ जना सांसद हुने देखिन्छ । यीबाहेक स्वतन्त्र ५, लोसपाका ४, नागरिक उन्मुक्ति पार्टीका ३, राष्ट्रिय जनमोर्चाका १ र नेपाल मजदुर किसान पार्टीका १ जना सांसदले पनि समीकरणको अंकगणित यताउता पार्न सक्छन् ।
कुनै एक दलको बहुमत नआएको अहिलेको अवस्थामा मिलिजुली सरकार गठनका लागि पहिला सबैभन्दा ठूलो दलले मौका पाउँछ । त्यसो हुन सकेन भने दोस्रो ठूलो दलले अन्य दलहरुको समर्थन लिएर बहुमत पु¥याई मिलिजुली सरकार बनाउन सक्छ । त्यो पनि हुन सकेन भने कुनै पनि सांसदले आफूलाई बहुमत सांसदहरुको समर्थन रहेको प्रमाणित गरी सरकार गठन गर्न सक्छ । त्यो पनि हुन सकेन भने पुनः निर्वाचनमा जानु पर्ने हुन्छ । संविधानले तोकेको यही प्रावधानमा रहेर आगामी सरकार गठन गर्नुपर्ने छ ।
अब लागौँ आगामी सरकार गठन हुन सक्ने सम्भावित समीकरणतर्फ । प्रतिनिधिसभामा कुनै एक दलको बहुमत नभएको प्रष्ट भइसकेकोले अबको सरकार दुई वा दुईभन्दा बढी दलको हुने प्रष्ट छ । कतिपयले त्रिशंकु सरकार हुने भनेर तीन वा तीनभन्दा बढी दलको सरकार बन्ने बताइरहेका छन् । तर भुल्न नहुने कुरा के हो भने काँग्रेस र एमाले मिल्ने हो भने पनि मिलिजुली सरकार बन्न सक्छ । यस्तो हुन सकेमा यो सरकार शक्तिशाली पनि हुनेछ । पञ्चायती व्यवस्था फाल्न २०४६ सालमा र राजतन्त्रविरुद्ध २०६३ सालमा मिलेर आन्दोलन गरेका काँग्रेस र एमाले मिल्ने हो भने पाँच वर्ष टिक्ने स्थिर सरकार निर्माण हुनेछ । आगामी सत्ता समीकरणको पहिलो सम्भावना यही हो । एमालेबाहेक अर्को कुनै एक दलसँग मिलेर काँग्रेसले र काँग्रेसबाहेक अर्को कुनै एक दलसँग मिलेर एमालेले सरकार बनाउन सक्ने देखिन्न ।
दोस्रो विकल्प वा सम्भावना भनेको काँग्रेस, माओवादी केन्द्र र रास्वपाको गठबन्धन सरकार हो । रास्वपा यस्तो गठबन्धन सरकारमा नजाने भयो भने काँग्रेससँग रास्वपाको ठाउँमा एकीकृत समाजवादी र जसपालाई लिएर चार दलको गठबन्धन सरकार बनाउने विकल्प बाँकी नै रहन्छ । तेस्रो विकल्पमा जसपा गएन भने चौथो विकल्पका रुपमा जसपाको ठाउँमा जनमत पार्टी र लोसपालाई राखेर काँग्रेसले पाँचदलीय गठबन्धनको सरकार बनाउने सम्भावना पनि जीवितै छ । काँग्रेस नेतृत्वको सरकार बनाउन पाँचौं विकल्प भनेको काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र राप्रपाको चारदलीय गठबन्धन हो ।
काँग्रेसले सरकार बनाउन नसकेको खण्डमा दोस्रो ठूलो दलका नाताले एमालेसँग दुई विकल्प छन् । एउटा रास्वपासहितको सरकार, अर्को रास्वपाबाहेकको सरकार । भावी सरकार गठनका लागि सम्भावित छैटौं सत्ता समीकरण भनेको एमाले, माओवादी केन्द्र, रास्वपा र राप्रपाबीचको चारदलीय गठबन्धन नै हो । यदि रास्वपा एमाले नेतृत्वको सरकारमा पनि नजाने भयो भने रास्वपाको ठाउँमा जसपा र नागरिक उन्मुक्ति पार्टी वा जसपा र जनमत पार्टी समावेश गरेर पाँचदलीय गठबन्धनको सरकार बन्ने सातौँ सम्भावना पनि छ ।
भावी सत्ता समीकरणको नेतृत्व लिने पहिलो अवसर नेपाली काँग्रेसलाई प्राप्त छ । नयाँ सरकार गठनका लागि बहुमत जुटाउन काँग्रेस असफल भएको खण्डमा मात्र एमालेलाई सरकार गठनको अवसर प्राप्त हुनेछ । सत्ता समीकरणको सातथरी सम्भावनामध्ये सबैभन्दा उत्तम विकल्प भनेको काँग्रेस र एमालेको दुईदलीय मिलिजुली सरकार नै हो । त्यसो हुन सक्यो भने सरकारले स्थिरता प्राप्त गरी पाँच वर्ष ढुक्कले काम गर्न पाउने छ । यी दुई ठूला दलले पाँच वर्षसम्म नै सरकारको नेतृत्व परिवर्तन नगर्ने गरी सत्ता साझेदार बन्ने हो भने राजनीतिमा देखिएका विकृति पनि कम हुने थिए । होइन भने फेरि पनि सरकार परिवर्तनका खेल भई नै रहने छन् । यसपालिको जनमतले काँग्रेस र एमाले मिलेर सरकार बनाऊ, माओवादी केन्द्र प्रतिपक्षमा बस भनेर प्रष्ट भनेको छ ।




