काठमाडौं ९ भदौ
सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको छ । केहीबेर अघिबाट जारी बैठकमा पाँच दलका शीर्ष नेतासहित सिट बाँडफाँटका लागि गठित कार्यदलका सदस्यहरु पनि सहभागी छन् ।
कुन दललाई कति सिट दिने भन्नेबारेमा गठबन्धनमा सहमति जुट्न सकेको छैन। यसअघि पनि बालुवाटारमा लगातार गठबन्धन र कार्यदलको बैठक बस्दै आएको छ।
बुधवार पनि गठबन्धनका नेताहरु बालुवाटारमा बैठक बसेका थिए। गठबन्धनमा नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रले बढी सिट मागेका कारण सहमति हुन नसेकेको कार्यदलका सदस्यहरुको भनाइ छ। मापदण्डका बारेमा पनि कार्यदलमा विवाद रहँदै आएको छ। २०७४ को प्रतिनिधि सभाको मत परिणामलाई मात्रै आधार मान्ने कि नमान्ने भन्नेमा गठबन्धनमा विवाद भएको हो।
स्थानीय तह २०७९ लाई पनि आधार मान्नुपर्ने नेताहरुको भनाइ छ। अहिले प्रतिनिधि सभामा भएकै दलहरुको अवस्थाका आधारमा टिकट बाँडफाँट गर्नुपर्नेसमेत गठबन्धनमा साना दलहरुले गरिरहेका छन्। कांग्रेस भने उक्त प्रस्तावसँग सहमत हुन सकेको छैन।




