भरतपुर ११ भदौ
ऐतिहासिक अन्वेषणमा आधारित पुस्तक ‘सँस्कृतिका सोपानमा चितवन’ शनिबार एक समारोहबीच सार्वजनिक गरिएको छ । भरतपुर निवासी समालोचक एवं अन्वेषक डीआर पोखरेलद्वारा लिखित पुस्तक ‘सँस्कृतिका सोपानमा चितवन’ लाई हाम्रो सिर्जना त्रैमासिक पत्रिकाले प्रकाशित गरेको हो ।
लेखक पोखरेलको जन्मदिन र कुशेऔँशीको अवसर पारेर पुस्तक सार्वजनिक गरिएको हो । भरतपुरमा आयोजना गरिएको कार्यक्रममा पाका व्यक्तित्व यमुनाप्रसाद न्यौपाने र चितवन बौद्ध अनुसन्धान केन्द्रका संयोजक विजय सुवेदीले पुस्तकलाई विमोचन गरेका हुन् ।
पुस्तकमाथि टिप्पणी गर्दै पत्रकार रमेशकुमार पौडेलले पुस्तकमा चितवनको इतिहास सँगसँगै राजनीतिक र सामाजिक चित्रण पनि जोडिएको बताए । ‘यहाँको संस्कृति, संस्कार र सभ्यतालाई जोडेर चितवनका आदिवासी र विशेषगरी थारू समुदायको चित्रण गरिएको छ’, पत्रकार पौडेलले भने, ‘चितवनको पहाडी क्षेत्रमा बसोबास गर्ने चेपाङ समुदायको चित्रण भने अपुरो छ । चितवनको सामाजिक इतिहासका बारेमा केन्द्रित पुस्तकमा यहाँको संस्कृति र सभ्यताको अर्थ र महत्वको व्याख्या भने राम्रोसँग गरिएको छ ।’
मानव सभ्यताको इतिहासको अन्वेषण गर्दै चितवनलाई केन्द्रबिन्दुमा राखेर यो पुस्तक लेखिएको चितवन साहित्य परिषदका अध्यक्ष केदारनाथ खनालले बताए । ‘चितवनको इतिहासका बारेमा पाइएका प्रमाणित तथ्य पनि पुस्तकमा छन्’, खनालले भने । डाक्टर कर्णबहादुर बानियाँले अनुसन्धानकर्मी पोखरेलले यस पुस्तकमा चितवनको सभ्यता, संस्कृति र मध्यदेशको बारेमा खोजमुलक सामग्री समेटेको बताए ।
चितवन बौद्ध अनुसन्धान केन्द्रका संयोजक विजय सुवेदीले यो पुस्तक चितवनको सभ्यताको चिनारी भएको बताए । बौद्ध सभ्यताको देनस्वरुप चितवनमा मानव बसोबासको आरम्भ भएको इतिहासकाल र मध्यकालभरि यहाँ भएको विकास र सभ्यतालाई पुस्तकमा लेखक पोखरेलले प्रष्टसँग लेखेको सुवेदीले बताए । ‘ऐतिहासिक चितवनका गुमनाम सांस्कृतिक, धार्मिक र पौराणिक रहस्यहरू पनि पुस्तकमा छन्’, सुवेदीले भने ।




