भरतपुर, १३ भदौ l
चिकित्सकमात्र नभई लेखकका रुपमा समेत परिचित प्राडा कृष्णप्रसाद पौडेलले भरतपुर अस्पतालको मेडिकल सुपरिटेण्डेन्ट (मेसु) को जिम्मेवारी सम्हालेको सोमबार एक वर्ष पुगेको छ । एक वर्ष अर्थात् १२ महिनामा प्राडा पौडेलले भरतपुर अस्पतालमा सुधारका २४ काम सुरु गरेका छन् ।
२०७८ साल भदौ १३ गते प्राडा पौडेल भरपतुर अस्पतालको मेसुमा नियुक्त भएका थिए । मेसु भएपछि उनले सबैभन्दा पहिले अस्पतालको ओपिडी समय परिवर्तन गरे । ओपिडी समय बिहान १० बाट दिउँसो २ बजेसम्म थियो । उनले बिहान ९ः३० देखि दिउँसो २ः३० बजेसम्म कायम गरे । गत असोज १७ गतेबाट सुरु गरिएको जनरल ओपिडी सेवा बिहान आठ बजेबाट अपराह्न पाँच बजेसम्म चल्छ । बिहान ७ः३० बजे नै खुल्ने टिकट काउण्टर दिउँसो २ बजेसम्म खुला रहन्छ । शुक्रबार भने बिहान ११ बजे काउण्टर बन्द हुन्छ ।
मेसु पौडेलकै पालामा गत मंसिर १ गतेबाट अपरेशन थिएटर ६ बाट ७ पु¥याइएको छ । विकास समिति बजेटबाट थप २ वटा मोडुलर अपरेशन थिएटर बनाई काम सुरु हुँदैछ । गत मंसिर ३ गतेदेखि आठ शैय्याको ट्रमा इमरजेन्सी सुरु गरिएको छ । अस्पतालको सी ब्लकलाई टर्सरी लेभलको ट्रमा सेन्टर बनाउन काम सुरु भइसकेको छ । इमरजेन्सी नयाँ भवनमा यही भदौ महिनाको अन्त सम्ममा सर्दैछ । नेशनल ट्रमा सेन्टरपछि दोस्रो सरकारी ट्रमा सेन्टर भई दुर्घटनाका बिरामीलाई छिटोछरितो सेवा दिने लक्ष्य लिइएको मेसु पौडेल बताउँछन् ।
प्रसूति सेवालाई छुट्टै भवन निर्माण गरी अझ गुणस्तरीय बनाउन समितिकै खर्चले प्रसूति भवन छुट्टै बनाउन प्रपोजल र डिपिआर तयार गरिएको छ । बन्द भएको स्पाइनल वार्ड नयाँ भवनमा सुरु गरिएको छ । फिजियोथेरापी सेवालाई थप आधुनिक र सुविधाजनक बनाइएको छ । दुई वर्ष बन्द भएको न्यूरोसर्जरी भदौ १५ गतेदेखि सुरु गर्न लागिएको मेसु पौडेलले जानकारी दिए ।
भरतपुर अस्पतालमा डाइलासिस १० बाट १५, आइसीयू २० बाट ३० शैय्याको बनाउन लागिएको छ । नवजात शिशुका लागि नयाँ एचडीयू र १० शैय्याको पीआइसीयू स्थापनाको काम अन्तिम चरणमा पुगेको छ । अस्पतालभित्र सोधपुछ कक्ष र फ्रेण्डस् अफ भरतपुर अस्पतालसँग मिली अग्रभागमा हेल्प डेस्क साउन १ गतेबाट नियमित सञ्चालनमा छ ।
ब्युटिफिकेसन कमिटी बनाई अस्पतालको सरसफाई र सौन्दर्यकरणको काम भइरहेको छ । कमिटीका संयोजक लिलाधर पौडेलले हरेक सोमबार बिहान ड्युटी समयभन्दा बाहिरको समय पारेर सरसफाई र सौन्दर्यकरणको काम भइरहेको जानकारी दिए । यस काममा अस्पतालका अध्यक्ष, मेसु, चिकित्सक, कर्मचारी र विभिन्न संघसंस्थाका सदस्य स्वयंसेवीरुपमा खटिँदै आएको संयोजक पौडेल बताउँछन् ।
जनताको सबैभन्दा ठूलो गुनासो सेवा लिँदा हुने भीडभाड नै हो । भीड कम गर्न अनलाइन टिकट गत कात्तिक ५ गतेबाटै सुरु गरिए पनि यसको प्रभावकारिता कम देखिएपछि पुनः निःशुल्क ओपिडी सेवा र अनलाइन टिकेटिङ सुरु भएको छ । करिब ५ लाख बीमितको प्राथमिक सेवा बिन्दु भएको, रेफरल सिस्टमको कमी आदि कारणले बीमाका बिरामीलाई छरितो सेवा दिन नसकिएको मेसु पौडेल स्वीकार्छन् ।
आठ वटा कडा रोगका लागि राज्यले दिएको सुविधा र सामाजिक सेवा इकाइबाट दिइने सुविधाले गर्दा भरतपुर अस्पतालमा कुनै पनि नेपाली नागरिक पैसाको अभावले उपचारबाट विमुख हुनु पर्दैन । मानव स्रोत र पूर्वाधारको हिसाबले यो आफैँ मेडिकल कलेज बनिसक्नुपर्ने अस्पताल हो । तर अहिले अस्पतालमा नर्सिङ र एमडी/एमस कार्यक्रमहरु सञ्चालन भइरहेका छन् । यो वर्ष बीएससी नर्सिङ सुरु गर्ने तयारीमा आफूहरु जुटेको मेसु पौडेलले बताए ।
सेवालाई अझै गुणस्तरीय बनाउन क्युए कमिटी र ड्युटी अफिसरको व्यवस्था गत पुस महिनाबाट सुरु गरिएको यस अस्पतालमा छिटो सेवा चाहिने बिरामीलाई लक्षित गरी गत जेठ ३ गतेदेखि छुट्टै भवनमा पेइङ सुपरस्पेसियालिटि क्लिनिक स्थापना गरिएको छ । यो स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विस्तारित अस्पताल सेवा (इएचएस) कार्यविधि अनुसार नै सञ्चालन गरिएको मेसु पौडेल बताउँछन् ।
चिकित्सक, नर्स, प्राविधिकहरुलाई स्वास्थ्य विषयमा अनुसन्धान गर्न प्रेरित गर्न विकास समितिले निर्णय गरी एक वर्षमा १० वटा उत्कृष्ट रिसर्च प्रपोजललाई थोरै भए पनि अनुसन्धानको व्यवस्था गरिएको बताउँदै उनले अस्पताललाई प्राज्ञिक थलो बनाउन एकेडेमिक कमिटी, इन्स्टिच्युसनल रिभ्यु बोर्ड गठन गरिएको जानकारी दिए । कन्टिन्युइङ मेडिकल एजुकेशन (सिएमई) सञ्चालन हुने गरेको यो अस्पताल देशभरिका स्वास्थ्यकर्मीलाई विभिन्न तालिम दिने लोकप्रिय केन्द्र बन्दै गएको मेसुु पौडेल बताउँछन् ।
अस्पतालले हालै निष्पक्ष रुपमा लिखित र मौखिक गरी चिकित्सक, नर्स, फार्मेसी र ल्याबमा परीक्षा लिएको थियो । कर्मचारी प्रशासन र अस्पताललाई अनुशासित बनाउन दण्ड र पुरस्कारको परिपाटी अगाँलिएको प्राडा पौडेलले बताए ।
भरतपुर अस्पतालका लागि एमआरआई मेसिन गत वर्ष नै स्वास्थ्य मन्त्रालयबाट स्वीकृत भए पनि अर्थ मन्त्रालयमा रोकिएको थियो । यस वर्ष अर्थ मन्त्रालयले बजेट कार्यक्रममा पारिसकेकाले खरिद प्रक्रिया सुरु भइसकेको अस्पतालले जनाएको छ ।




