चितवन १९ भदौ
आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेश सभा सदस्य पदको निर्वाचनमा उम्मेदवार बन्न नेपाली काँग्रेसभित्र आकांक्षी धेरै देखिएका छन् । आकांक्षीहरुको व्यवस्थापन गर्न क्षेत्रीय समितिहरुले आवेदन लिई केन्द्रमा सिफारिस पठाएका छन् ।
नेपाली काँग्रेसबाट चितवन १ र २ मा प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका राज्यमन्त्री एवं नेपाली काँग्रेसका केन्द्रीय सदस्य उमेश श्रेष्ठको नाम सिफारिस भएको छ । उनीसँगै अरु आकांक्षीको नाम पनि सिफारिस गरी नेपाली काँग्रेस क्षेत्रीय समिति क्षेत्र नम्बर १ र २ ले केन्द्रमा पठाएका छन् ।
चितवन १ मा राज्यमन्त्री श्रेष्ठसँगै डा. स्वर्णिम वाग्ले, डा. विश्व पौडेल, डा. तीर्थ खनिया र राजेन्द्र बुर्लाकोटीको नाम सिफारिस भएको छ । यसैगरी चितवन २ मा राज्यमन्त्री उमेश श्रेष्ठसँगै जितनारायण श्रेष्ठ, राजेश्वर खनाल, प्रकाश अधिकारी र राजन कार्कीको नाम सिफारिस भएको छ ।
चितवन ३ मा पाँचदलीय सत्ता गठबन्धनको एक दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई छाड्ने संकेत गर्दै नेपाली काँग्रेसबाट कसैले आकांक्षा व्यक्त गरेका छैनन् । क्षेत्र नम्बर ३ मा टेकप्रसाद गुरूङ, दिनेश कोईराला, रामकृष्ण घिमिरे लगायतले प्रत्यक्षमा दाबी गरे पनि समानुपातिकतर्फ नाम सिफारिस मागेर प्रत्यक्षतर्फको टिकट प्रचण्डलाई छाड्ने संकेत गरेका हुन् ।
आइतबार बसेको नेकपा माओवादी केन्द्रको निर्वाचन परिचालन समिति बैठकले प्रचण्डलाई सर्वसम्मत एकल उम्मेदवार सिफारिस गरेको छ । प्रचण्ड यसअघि २०७४ सालको निर्वाचनमा पनि चितवन ३ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए । उनको नाम यसअघि गोरखा–१ बाट समेत सिफारिस भएको छ । माओवादी अध्यक्ष प्रचण्डले भने आफू चितवन–३ बाटै चुनाव लड्ने स्पष्ट गरिसकेका छन् ।




