काठमाडौँ २ असोज ।
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा आइतबार निवासमै ‘नजरबन्द’मा परेको खबर सुनेपछि उनको अवस्था बुझ्न राष्ट्रिय मानवअधिकार आयोगको टोली जबराको निवासमा पुगेको छ । जबराले सञ्चारमाध्यमहरुमा आफूलाई नजरबन्दमा राखेको बताएपछि आयोगले अनुगमनका लागि सहसचिवको नेतृत्वमा टोली पठाएको हो ।
आयोगका प्रवक्ता टीकाराम पोखरेलले सर्वोच्च अदालत र जबराको निवासमा टोली गएको पुष्टि गरे । आयोगकी सदस्य लिली थापाका अनुसार जबरालाई नजरबन्दमा राखिएको समाचार आएपछि आयोगका सहसचिव डा. टीकाराम पोखरेलको नेतृत्वमा आयोगले अनुगमनका लागि टोली पठाएको हो ।
थापाका अनुसार टोलीले सर्वोच्च र जबरा निवासमा पुगेर अनुगमन सुरु गरेको छ । अनुगमन टोली फर्किएपछि जबराको अवस्थाबारे आयोगले धारणा सार्वजनिक गर्ने पनि थापाले बताइन् ।
राणाविरुद्ध २०७८ फागुन १ गते महाभियोगको प्रस्ताव प्रतिनिधिसभामा दर्ता भएको थियो । महाभियोग दर्ता भएसँगै उनी निलम्बनमा परेका थिए । महाभियोगबारे प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले छानबिन गरेर सभामुख अग्निप्रसाद सापकोटालाई प्रतिवेदन बुझाएको छ ।
महाभियोगबारे निर्णय नगरी १ असोजको मध्यरातबाट प्रतिनिधिसभा सदस्यहरुको कार्यकाल सकिएपछि जबराले सर्वोच्चमा फर्किने भन्दै प्रशासनमा खबर पठाएका थिए ।
राणा सर्वोच्च फर्कने तयारी गरेपछि उनलाई रोक्न बार एसोसिएसनका पदाधिकारी र सदस्यहरू अदालत परिसरमा धर्ना दिएका छन् भने बाक्लो रूपमा सुरक्षाकर्मी पनि परिचालन गरिएको छ ।




