काठमाडौं ४ असोज
धनगढीको सेती प्रादेशिक अस्पतालमा नौ दिनदेखि अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रदै गएको छ । अस्पताल प्रशासनले उनको जीवन रक्षाकै लागि भए पनि जबर्जस्ती काठमाडौं लैजाने तयारी गरेको छ ।
जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीका अनुसार डा. केसीको स्वास्थ्यमा समस्या आएको र विशिष्टीकृत अस्पतालमा सार्नुपर्ने चिकित्सकको सुझावअनुसार काठमाडौं लैजान लागिएको हो।
अनशनको तेस्रो दिनमै स्वास्थ्यमा समस्या आएपछि डा. केसी सेती प्रादेशिक अस्पतालमा उपचाररत छन्। सेती प्रादेशिक अस्पतालका चिकित्सकले डा.केसीको पेटमा कडा खाले अल्सर भई रक्तश्रावको शंका भएको, मांशपेसी सुक्दै गएको आदि समस्या देखिएपछि विशिष्टीकृत अस्पतालमा सार्न आग्रह गरेका छन्।
यसैबीच सेनाको स्काई ट्रक धनगढी विमानस्थलमा पुगेको छ। तर डा. केसीले भने बुधबार बेलुकी आफैं जाने अड्डी लिएका छन्। जबर्जस्ती गरिए यसलाइ अपहरण मान्ने र त्यसविरुद्ध लड्ने उनले बताएका छन्।




