चितवन, ११ कत्तिक ।
नेपालीहरुको दोस्रो महान चाड तिहार बिहीबार बिदा भएसँगै शुक्रबार बिहानैदेखि चितवनमा चुनावी गतिविधि सुरु भएको छ । शुक्रबार बिहान कालिका नगरपालिका वडा नम्बर १ र ५ को सम्पर्क कार्यलय उद्घाटन गरिएको छ ।
कालिका नगरपालिका चितवनका प्रतिनिधिसभा सदस्यका लागि निर्धारित तीन क्षेत्रमध्ये क्षेत्र नम्बर २ मा पर्छ । प्रतिनिधिसभा सदस्य पदका लागि चितवन२ बाट सत्ता गठबन्धनका उम्मेदवार नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं राज्यमन्त्री उमेश श्रेष्ठले एक कार्यक्रमबीच निर्वाचन सम्पर्क कार्यालय उद्घाटन गरेका हुन् ।
सम्पर्क कार्यालय उद्घाटन समारोहलाई सम्बोधन गर्दै राज्यमन्त्री श्रेष्ठले मंसिर ४ गते हुने आमनिर्वाचनमा आफूलगायत सत्ता गठबन्धनका सबै उम्मेदवारलाई जिताउन आग्रह गरे । उनले समग्र चितवनको विकासका लागि आफूले उम्मेदवारी दिएको प्रष्ट पारे ।
चितवन २ क बाट प्रदेशसभा सदस्य पदका लागि सत्ता गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं बागमती प्रदेशका यातायातमन्त्री घनश्याम दाहालले विकास र समृद्धिका लागि सत्ता गठबन्धनका उम्मेदवारहरु जिताउनु पर्ने बताए ।




