तनहॅु, १३ कात्तिक ।
होमस्टे भन्नेबित्तिकै नाक खुम्च्याउने नेपालीहरु पनि छन् । आनन्द लिन जान्ने हो भने होमस्टेको बसाई महँगा होटेलको भन्दा राम्रो बन्छ । यस्तै राम्रा होमस्टेमध्ये एक हो तनहुँको टुटेपानी होमस्टे, जहाँबाट अन्नपूर्ण हिमालको मनमोहक दृश्य देखिन्छ ।
भानु १३ टुटेपानीमा रहेको होमस्टे समुद्री सतहबाट १ हजार १ सय मिटरको उचाइमा रहेको छ । अन्नपूर्ण हिमाल नजिकबाट अवलोकन गर्न सकिने टुटेपानी पहाडको अनुपम रमणीय स्थानमा रहेको छ ।
तनहुँ उद्योग वाणिज्य संघको अवधारणामा २०७२ सालबाट संचालनमा आएको टुटेपानी होमस्टेमा एकपटकमा ५० जनासम्मले खाने र बस्ने सुविधा लिन सक्छन् । १६ घरबाट सुरू भएको यो होमस्टे स्थानीय गुरूङ समुदायले संचालनमा ल्याएका हुन् ।
पृथ्वी राजमार्गको डुम्रेबाट भानुमार्ग हुँदै अन्दाजी २० किमी दुरी पार गरेपछि टुटेपानी होमस्टे पुगिन्छ । होमस्टे संचालकमध्ये एक क्याप्टेन होमबहादुर गुरूङ बाटो अप्ठ्यारो भएकाले होमस्टे ओझेलमा परेको बताउँछन् ।
कतिपयले होमस्टे संचालनको काम छोडेर विदेश पलायन हुन थालेको बताउँदै गुरुङ भन्छन्, ‘सरकारले उचित ब्यवस्थापनका साथ सहयोग गरे होमस्टे राम्रो हुने थियो । यहाँसम्म आउने बाटो वर्षामा पनि चालु हुने गरी उच्चस्तरको बनाउने हो भने टुटेपानीमा पर्यटकको चाप बढाउन सकिन्छ । तर टुटेपानी होमस्टे सरकारको दृष्टिमा पर्न सकेन । बाटो असजिलो हुँदा पर्याप्त मात्रामा पर्यटन आएका छैनन् ।’
अन्नपूर्ण हिमाललाई आँखै अगाडि देख्न पाइने टुटेपानी पुगेका जो कोही पर्यटक रमाउँछन् । यहाँ घरायसी वातावरणमा घरकै जस्तो खाना पाइन्छ । टुटेपानी होमस्टे पुगेका पर्यटक यहाँको स्थानीय खानाको स्वाद सम्झँदै फर्कन्छन् । स्थानीय गुरूङ समुदायको संस्कृति झल्कने मनोरञ्जन पनि पाइन्छ । अब जाने होइन त एकपटक टुटेपानी ?





