एजेन्सी । ट्वीटरका सिईओ एलन मस्कले प्यारोडी अकाउन्ट बन्द गर्ने चेतावनी दिएका छन् । ट्वीटरमा एक प्रयोगकर्ताले सोधेको प्रश्नको जवाफ दिँदै मस्कले यदि कुनै अकाउन्टले अरुको गतिविधि र फोटो कपी गरेर प्यारोडी अकाउन्ट बनाएको पाइए त्यस्ता अकाउन्ट बन्द गर्ने बताएका हुन् ।
उनले अकाउन्टको बायोमा प्यारोडी एकाउन्ट भनेर घोषित गरिएका एकाउन्टहरू पनि बन्द गर्ने स्पष्ट पारेका छन् । ट्वीटर भेरिफिकेसनका लागि भन्दै उनले अब कुनै पनि किसिमको चेतावनी नदिइ त्यस्ता अकाउन्ट हटाइने बताएका हुन् ।
नेपालमा पनि कयौं नेताको प्यारोडी अकाउन्ट बनेको छ । पूर्वप्रधानमन्त्रीहरू डा. बाबुराम भट्टराई, केपी शर्मा ओली लगायतका चर्चित व्यक्तिहरूको प्यारोडी अकाउन्ट बनेको छ । एलन मस्कले कोही प्रयोगकर्ताले आफ्नो ट्वीटर ह्याण्डल परिवर्तन गरेमा अस्थायी रूपमा भेरिफिकेसन अर्थात् नीलो टिक हट्नेसमेत जानकारी दिएका छन् ।




