काठमाडौं २० चैत
सर्वोच्च अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध रिट दर्ता भएको छ । लामिछानेविरुद्ध अमेरिकी नागरिक नै रहेको अवस्थामा नेपालको राहदानी लिएको विषयमा रिट दर्ता भएको हो ।
अधिवक्ता युवराज पौडेल ‘सफल’ ले आइतबार लामिछानेविरुद्ध रिट निवेदन लिएर सर्वोच्च अदालत पुगेको र सोमबार मात्र मुख्य रजिस्ट्रारले अध्ययन गरी दर्ता भएको हो । उक्त रिटको पेसी मंगलबारका लागि तोकिएको छ ।
राहदानी प्राप्त गर्ने कार्यमा लामिछानेको आपराधिक मनसाय नरहेको भनेर महान्यायाधिवक्ताले आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गएर निष्कर्ष निकालेको पनि पौडेलको दाबी छ ।
सफलले यसअघि पनि लामिछानेको सांसद पदको योग्यतामा प्रश्न उठाउँदै रिट दायर गरेका थिए । उक्त रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले लामिछानेको सांसद पद खारेज गरेको थियो ।
लामिछानेविरुद्ध यसअघि प्रहरीले यही कसुरमा अनुसन्धान गरेको थियो। तर प्रहरी र सरकारी वकिल कार्यालयले मुद्दा नचलाउने निर्णय गरेका थिए। मुद्दा नचलाउने निर्णय गरेको भन्दै युवराज पौडेल ‘सफल’ले महान्यायाधीवक्ताको कार्यालयलाई विपक्षी बनाएका छन् ।




