तनहुँ, २८ पुस २०८१ आइतवार ।’तनहुँ महोत्सव हाम्रो आधार, आर्थिक सामाजिक विकासको पूर्वाधार’ भन्ने मूल नाराका साथ तनहुँको सदरमुकाम दमौली स्थित विपी वन वाटिकामा सञ्चालित ९औं तनहुँ महोत्सवको आज चौथो दिन पनि दर्शकहरुको भिड लागेको छ। दैनिक उपभोग्य वस्तु तथा अन्य सामाग्रीहरु सुपथ मूल्यमा किन्न तथा मनोरन्जन लिने दर्शकहरुको भिड लागेको हो ।
किसानको उत्पादनलाई बजारीकरणको लागि मद्धत पुगेको आयोजकको भनाइ छ। सहरी आसपास मात्रै नभई जिल्लाका दशवटै पालिकाका दुर्गम क्षेत्रमा उत्पादित कृषि उपजलाई सदरमुकाम दमौलीमा ल्याएर बिक्री गर्ने व्यवस्था मिलाइ दिएर सङ्घले किसानलाई मद्धत गरेको हो ।
सङ्घले पालिकासँग समन्वय गरेर निशुल्क ढुवानी र दमौलीमा बिक्रीको लागि निशुल्क स्टल उपलब्ध गराएको छ । तनहुँ उद्योग वाणिज्य सङ्घको आयोजना तथा दमौली बजार इकाईको सहआयोजनामा पुस २५ गतेबाट सुरु गरिएको नवौं तनहुँ कृषि पर्यटन तथा प्रविधि महोत्सवमा किसान तथा घरेलु हस्तकलाका सामग्री बिक्रीको लागि ४० वटा स्टल निशुल्क उपलब्ध सङ्घले सहयोग गरेको छ ।
महोत्सवमा कृषि र पर्यटनलाई पहिलो प्राथमिकताका साथ सो सङ्ख्यामा स्टल निशुल्क उपलब्ध गराईएको आयोजकले जनाएको छ । किसानको उत्पादन बिक्री नहुने, सस्तोमा बेच्नु पर्ने लगायतले गर्दा जामिन बाँझो राख्ने क्रम बढेकाले पेशा संरक्षण गर्न महोत्सव गर्नु परेको र किसानलाई निशुल्क स्टल उपलब्ध गराईएको तनहुँ उद्योग वाणिज्य सङ्घका अध्यक्ष तथा महोत्सव मुल समारोह समितिका संयोजक वैकुण्ठनाथ मिश्रले बताए । ‘उपभोत्तालाई सिधै बिक्रीको प्रबन्ध गरेर किसानलाई फाइदा हुने व्यवस्था मिलाएका हौं ।’( अध्यक्ष मिश्रले भने ।




