गाेवा । भारतको गोवास्थित एक नाइट क्लबमा सिलिन्डर विस्फोटपछि भएको आगलागीमा परी नेपालीहरूको पनि मृत्यु भएको पुष्टि भएको छ । उक्त घटनामा कुल २५ जनाको ज्यान गएको थियाे भने ६ जना घाइते भएका छन्।
मृत्यु हुने २० जना सोही क्लबका कर्मचारी हुन्। सूची अनुसार, मृतकमध्ये २० जना नाइटक्लबका कर्मचारी थिए। तीमध्ये उत्तराखण्डका पाँच, नेपालका चार, झारखण्ड र आसामका तीन–तीन, महाराष्ट्र र उत्तर प्रदेशका दुई–दुई तथा पश्चिम बंगालका एक व्यक्ति रहेका छन्। चार जना नेपाली नागरिकको पहिचान चूर्णबहादुर पुन, विवेक कटवाल, सबिन र सुदीपका रूपमा गरिएको छ । ती मृतक नेपालीको नेपालको ठेगाना भने खुलाइएको छैन ।
यी चारै जना नेपाली नागरिकको पोस्टमार्टम रिपोर्ट आइसकेको र गोवाको अस्पतालमा शव राखिएको छ । गोवा सरकारको तर्फबाट नयाँ दिल्लीस्थित नेपाली राजदूतावासमा सम्पर्क गरी यी चारवटै शवलाई नेपाल पठाउन समन्वय भइरहेको गोवा पुलिसले जनाएको छ ।
प्रारम्भिक अनुसन्धानले क्लबभित्र नाचगानको क्रममा इलेक्ट्रोनिक फायरक्राकर पटाका चलाउँदा आगलागी सुरू भएको पुष्टि भएको छ। आगो फैलिएपछि ग्यास सिलिण्डर समेत विष्फोट हुँदा स्थिति भयावह बनेको थियो।
क्लबका ४ कर्मचारी पक्राउ परेका छन्। मुख्यमन्त्रीले क्लबका मालिकहरुलाई पनि चाँडै पक्राउ गरिने बताएका छन् । एक अधिकारीका अनुसार नाइट क्लबको निर्माण अनधिकृत थियो, तर यसलाई भत्काउने नोटिस उच्च अधिकारीले रोकिदिएका थिए।






