काठमाडाैं । नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वको मतगणना सुरु भएको छ । भृकुटीमण्डपस्थित अधिवेशन स्थलमा बिहान १० बजेदेखि मतगणना सुरु भएको र तीन घण्टाभित्र नतिजा घोषणा हुने अपेक्षा गरिएको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ ।
आयोगका अनुसार २,२२७ अधिवेशन प्रतिनिधिहरूले मतदान गरे भने ३६ जना अनुपस्थित रहे । मतदान बुधबार बिहान ९ बजेबाट सुरु भएको मतदान रातभर जारी रहेको थियो ।मतदान गर्न ८० वटा इलेक्ट्रोनिक मतदान मेसिन प्रयोग गरिएको थियो । इलेक्ट्रोनिक मतदान मेसिनको प्रयोगको बावजुद पनि प्रक्रियाले अपेक्षा गरेभन्दा बढी समय लिएपछि अधिवेशन तालिकाभन्दा दुई दिन बढ्यो ।
एमालेमा ३०१ केन्द्रीय सदस्य पदका लागि कुल ६४२ जनाले मनोनयन दर्ता गराएका थिए । वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेकपा एमालेको नयाँ नेतृत्वमा निर्वाचित हुन विभिन्न समूहको नेतृत्व गरिरहेका छन् ।
निर्वाचन आयोगले सार्वजनिक गरेको प्रारम्भिक मतपरिणाम अनुसार, हालसम्म अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीले ३३३ र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ११० मत प्राप्त गरेका छन् ।




