काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दाको सुनुवाइ आज हुँदैछ ।
सहकारी ठगी र संगठित अपराध अभियोगमा थुनामा रहेका लामिछाने र जोशीको मुद्दा उच्च अदालत बुटवलका न्यायाधीश वासुदेव आचार्य र तेजनारायण पौडेलको संयुक्त इजलासका आज एक नम्बर पेशीमा परेको छ ।
गत हप्ता यो हेर्न नमिल्नेमा परेको यो त्यसअघि पनि दुईपटक रवि पक्षका कानुनी व्यवसायीहरूले निवेदन दिएर बहस रोकिएको थियो ।
बुटवलस्थित सुप्रिम सहकारी ठगीसम्बन्धी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले सहकारीमा भएको अपचलनको आफ्नो हिस्साको बिगो रकम दाखिला गरे पनि न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ गते उनको रिहाइको अनुरोध अस्वीकार गरेको थियो । उक्त आदेशविरुद्ध लामिछानेले गत भदौ ९ गते उच्च अदालतमा निवेदन दर्ता गराएका थिए ।




